चिनियाँ स्मार्टफोन कम्पनी साओमीले नयाँ स्मार्टफोन ‘रेड्मी–१०’ चाँडै सार्वजनिक गर्ने घोषणा गरेको छ।
‘रेड्मी–१०’को टिजर रिलिज भएसँगै कम्पनीले नयाँ स्मार्टफोन ल्याउन लागेको पक्का भएको हो। टिजर पोस्टरमा फोनको डिजाइनबारे पनि थोरै जानकारी लिक भएको छ।
६.५ इन्चको फुल एचडी प्लस पन्चहोल डिस्प्ले हुने भनिएको ‘रेड्मी–१०’मा ९० हर्जको रिफ्रेस रेट हुनेछ।
यो फोनमा चारवटा क्यामरा छ, जसमा मुख्य क्यामरा ५० मेगापिक्सलको, ८ मेगापिक्सलको अल्ट्रा–वाइड सुटर, २ मेगापिक्सलको म्याक्रो सुटर र २ मेगापिक्सलको डेप्थ सेन्सर हुने ग्याजेट ३६०ले जनाएको छ। यसको अगाडीपट्टि भने ८ मेगापिक्सलको सेल्फी क्यामरा छ।
ओक्टाकोर मिडियाटेक हेलियो जी८८ एसओसी प्रोसेसरबाट बनेको ‘रेड्मी–१०’ तीन फरक र्याम र आन्तरिक स्टोरेज विकल्पका साथ आउने छ, जसमा ४ जिबी र्याममा ६४ जिबी आन्तरिक स्टोरेज, ४ जिबी र्याममा १२८ जिबी आन्तरिक स्टोरेज र ६ जिबी र्याममा १२८ जिबी आन्तरिक स्टोरेज छ।
यस नयाँ स्मार्टफोनमा पाँच हजार एमएएचको ब्याट्री पावर हुनेछ। सँगै १८ वाटको फास्ट चार्जिङ र ९ वाटको रिभर्स चार्जिङ पनि हुनेछ। यो फोन कार्बोन ग्रे, पिबल ह्वाइट र सि ब्लु गरेर तीन रङमा उपलब्ध हुनेछ।
‘रेड्मी–१०’ कहिले सार्वजनिक हुनेबारे कुनै जानकारी दिइएको छैन, तर कम्पनीले यो नयाँ स्मार्टफोन बजारमा छिट्टै ल्याउने बताएको छ।