एप्पलको एयरट्यागले हालै अमेरिकामा चोरी भएको एक मोटरसाइकल पत्ता लगाएको छ।
मंगलबार बिहान वासिंगटनका निवासी ब्रान्डनले एयरट्याग प्रयोग गरेर आफ्नो चोरी भएको मोटरसाइकल पत्ता लगाउन सक्षम भएको एप्पल इन्साइडरले बताएको छ।
ब्रान्डनका अनुसार उनको यसअघिपनि मोटरसाइकल चोरी भएको थियो। त्यसैले एप्पलले यसवर्ष एयरट्याग सार्वजनिक गर्ने बित्तिकै उनले एउटा किनेर आफ्नो मोटरसाइकल भित्र लुकाएका थिए।
एप्पलले सन् २०२१ को अप्रिल ३० मा एयरट्याग सार्वजनिक गरेको हो। यो एउटा सानो आकारको ट्रयाकिङ उपकरण हो, जसले हराएका उपकरणहरु आइफोनबाट सजिलै पत्ता लगाउन मद्दत गर्छ।
मंगलबार बिहान जब ब्रान्डनको मोटरसाइकल प्रार्किङबाट हरायो उनले आइफोनमा ‘फाइन्ड माइ’ एपबाट मोटरसाइकलको लोकेसन हेरे। आइफोनले देखाएको सो लोकेसनमा पुग्दा चोरहरुले ब्रान्डनको मोटरसाइकल त्यहीँ स्थानमा छाडेर भागेका थिए। उनले तत्काल नै प्रहरी नै फोन गरी आफ्नो मोटरसाइकल बिना कुनै क्षतिसहित पाएको बताए।
ती चोरहरुले ब्रान्डनको मोटरसाइकल किन बीच बाटोमै छाडेर गए भन्ने कुरामा सबै अलमल परेका थिए। तर ब्रान्डनका अनुसार उनले ‘फाइन्ड माइ’ एपबाट एयरट्याग एक्टिभेट गरेपछि पक्कै उपकरणले उनीहरुलाई एक ट्रयाकरले पछ्याइरहेको सूचित गरेको हुनसक्छ, त्यसैले उनीहरु त्यहाँबाट भागे।
एप्पल इन्साइडरका अनुसार यदी एयरट्याग आफ्नो असली प्रयोगकर्तासँग छैन भने यसले आइफोन चलाउने अन्य जोकोहीलाई पनि कसैले ट्रयाक गरिरहेको छ वा छैन सूचित गर्छ।
एप्पले एयरट्यागलाई ‘एन्टी–थेफ्ट’ उपकरण भनेर नाम दिएको छैन, तर यसले हालसम्म हराएका भन्दापनि चोरी भएका सामान पत्ता लगाउन सहज पारेको छ।