चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले आफ्नो जिटी सिरिजअन्तर्गत दुई नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ। छोटो समयमा नै संसारभर दश करोड फोन बिक्री भएको खुसीयालीमा कम्पनीले बिहिबार ‘रियलमी जिटी मास्टर इडिसन’ र ‘रियलमी जिटी एक्सप्लोरअर मास्टर इडिसन’ सार्वजनिक गरेको हो।
जिटी मास्टर इडिसनका स्मार्टफोन घुमफिर गरिरहने युवापुस्तालाई लक्षित गरेर बनाइएको रियलमीका सञ्चालक स्काइ लीले बताएका छन्। फोनको बाहिरी डिजाइन सुटकेस जस्तै छ जुन भिगन लेथरबाट बनाइएको छ। स्मार्टफोनको इतिहासमा पहिलोपटक रियलमीले फोनको डिजाइनका लागि भिगन लेथर प्रयोग गरेको हो।
‘रियलमी जिटी एक्सप्लोरअर मास्टर इडिसन’ क्वालकम स्न्यापड्रैगन ८७० प्रोसेसरबाट बनेको छ। यसमा १२ जिबीको र्याम स्टोरेज छ। यो फोनमा ५० मेगापिक्सलको मुख्य क्यामरा छ।
यसैगरी ‘रियलमी जिटी मास्टर इडिसन’ स्न्यापड्रैगन ७७८ ५–जी प्रोसेसरबाट बनेको छ, जसमा ८ जिबीको र्याम स्टोरेज छ। यो फोनको मुख्य क्यामरा ६४ मेगापिक्सलको छ र यसको सेल्फी क्यामरा ३२ मेगापिक्सलको छ।
यी दुवै फोनबाट प्रयोगकर्ताले डिएसएलआर क्यामराको जस्तै स्ट्रिट फोटोग्राफी मोड र स्ट्रिट फोटोग्राफी फिल्टर फिचर पाउन सक्ने कम्पनीले बताएको छ।
‘रियलमी जिटी मास्टर इडिसन’ र ‘रियलमी जिटी एक्सप्लोरअर मास्टर इडिसन’ १२० हर्जको सामसङ एमोलेड स्क्रिनले बनेको छ। यसमा डोल्बी एटोम्स डुअल स्पिकर र ट्याक्टाइल इन्जिनको समर्थन छ। जसले गर्दा यो फोन गेमर प्रयोगकर्ताका लागि पनि उपयुक्त हुनेछ।
‘रियलमी जिटी मास्टर इडिसन’को मूल्य तीन सय ९९ अमेरिकी डलरबाट सुरु हुन्छ। ‘रियलमी जिटी एक्सप्लोरअर मास्टर इडिसन’को मूल्य भने चार सय ९९ अमेरिकी डलरबाट सुरु भएको छ। फोनको यार्म र आन्तरिक स्टोरेज क्षमताअनुसार यी फोनका मूल्य अझै बढी हुने रियलमीले जनाएको छ।