भारतीय बजारमा रियलमीको नयाँ स्मार्टफोन ‘रियलमी सी–२१वाइ’ सार्वजनिक भएको छ।
ग्याजेट ३६० का अनुसार कम्पनीले आफ्नो सी सिरिज स्मार्टफोनअन्तर्गत गत महिना भियतनाममा ‘रियलमी सी–२१वाइ’ ल्याएको थियो, जुन सोमबार दिउँसो भारतमा पनि आएको हो।
वाटर–ड्रप स्टाइल नोच डिजाइन भएको नयाँ ‘रियलमी सी–२१वाइ’मा ६.५ इन्चको एचडी प्लस डिस्प्ले छ। अक्टाकोर यूनिसो टी–६१० एसओसी प्रोसेसर भएको यो फोनमा चार जिबी र्याम र ६४ जिबी आन्तरिक स्टोरेज छ।
फोनको पछाडिपट्टि तीनवटा क्यामरा छ, जसमा १३ मेगापिक्सलको प्राइमेरी सेन्सर, २ मेगापिक्सलको मोनोक्रोम सेन्सर र २ मेगापिक्सलको म्याक्रो सुटर छ। यसको अगाडि भने ५ मेगापिक्सलको सेल्फी क्यामरा छ।
‘रियलमी सी–२१वाइ’मा पाँच हजार एमएएचको ब्याट्री पावर छ। फोनलाई एकपटक पुरा चार्ज गरेपछि दिनभर टिक्ने दाबी छ। यो फोनले रिभर्स वाइर्ड चार्जिङ सर्पोट पनि गर्छ।
यसैगरी यो फोनमा ४–जी एलटीइ, वाइफाइ र माइक्रो यूएसबी पोर्ट पनि छ। यसको पछाडि फिंगरप्रिन्ट सेन्सर छ।
भियतनाममा ‘रियलमी सी–२१वाइ’ ब्ल्याक कारो र क्यारामेल ग्रिन रङमा आएको थियो। भारतमा भने यो फोन क्रस ब्ल्याक र क्रस ब्लु रङमा उपलब्ध छ।
हाल तीन जिबी र्याम र ३२ जिबी आन्तरिक स्टोरेज भएको ‘रियलमी सी–२१वाइ’को मूल्य दश हजार छ सय भारु तोकिएको छ। साथै चार जिबी र्याम र ६४ जिबी आन्तरिक स्टोरेज भएको यो फोनको मूल्य भने १२ हजार एक सय भारु छ।