चालू आर्थिक वर्ष २०७८-७९ को पहिलो (साउन) महिनामा ६ लाख ६७ हजार मोबाइल सेट आयात भएको छ।
यो गत आर्थिक वर्ष २०७७-०७८ को पहिलो (साउन) महिनाको तुलनामा यो दुई लाखले बढी हो। गत साउनमा चार लाख ७० हजार मोबाइल सेट आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ।
पछिल्लो समय कोरोना महामारीका कारण मोबाइल सेटको आयात बढ्दै गएको छ। एक त लकडाउनका कारण यातायातका साधन चलेनन्, अर्को अनलाइन कक्षा र घरमै बसेर कार्यालयको काम गर्दा मोबाइलको माग बढेको जानकारहरू बताउँछन्।
लकडाउनमा चोरी निकासीको बाटो बन्द भएकाले पनि मोबाइल आयात बढेको देखिएको मोबाइल आयात संघका अध्यक्ष दीपक मल्होत्रा बताउँछन्।
‘चोरी निकासीले ४० प्रतिशत बजार लिएको थियो, त्यो बजार अहिले हामीले पाएका छौं,’ उनले भने।
नेपाली बजारमा विश्वका विभिन्न देशबाट मोबाइल भित्रिने गरेका छन्।
पछिल्लो समय मोबाइल प्रयोगकर्ता बढ्दै गएकाले पनि मोबाइलको आयात बढेको हो। ग्रामीण क्षेत्रसम्म दूरसञ्चारका पूर्वाधार तथा सेवा पुग्न थालेपछि विकट क्षेत्रमा पनि मोबाइल सेवाको प्रयोग तीव्ररूपमा भइरहेको छ। तराईमा भारतको खुला सीमाबाट पनि मोबाइल आउँछन्।
‘झिटी, गुण्टा आदेश २०७५’ ले पनि मोबाइलको बजारलाई व्यवस्थित गरेको छ। सो व्यवस्थाअनुसार वैदेशिक यात्रामा गएकाले नयाँ मोबाइल एक सेट मात्र ल्याउन पाइने छ। यसकाे तथ्यांक भने भन्सार विभागमा हुँदैन।