विश्वबजारको स्मार्टघडी उद्योगमा एप्पल एकपटक फेरी उच्च स्थानमा पुगेको छ।
यस वर्षको दोस्रो त्रैमासिकमा एप्पलको स्मार्टघडी बजार २७ प्रतिशतले वृद्धि भएको छ। योसँगै एप्पलवाच प्रयोगकर्ताको संख्या दश करोड पुगेको छ। यसरी एप्पलले सम्पूर्ण स्मार्टघडी उद्योगमा आफ्नो उच्च स्थान राखेको एप्पल इन्साइडरले बताएको छ।
काउन्टरपोइन्ट रिसर्च रिपोर्टका अनुसार एप्पल विश्वव्यापी रुपमा ठूलो स्मार्टघडी निर्माता बनेपनि चीन र भारत ब्रान्डसँगको बढ्दो प्रतिस्पर्धाका कारण दोस्रो त्रैमासिकमा यसले केही शेयर मार्केट भने गुमाएको छ। अहिले यसको दश करोड सक्रिय एप्पलवाच प्रयोगकर्ता कायमै छ।
‘एप्पलवाचको आकर्षक डिजाइन, यसमा भएको स्वास्थ्य फिचर र अन्य सुविधाहरुका कारण एप्पलको उपभोक्ताको संख्या बढिरहेको छ,’ काउन्टरपोइन्ट रिसर्चका विश्लेषक सुजेउङ लिम भन्छन्, ‘यसरी पहिलोपटक वर्षको त्रैमासिकमा एप्पलवाचको प्रयोगकर्ताको संख्या दश करोडभन्दा बढी भएको छ।’
यसैगरी अन्य स्मार्टवाच ब्रान्ड सामसङ र गार्मिनको वार्षिक वृद्धि ४३ प्रतिशत र ६२ प्रतिशतले बढेको छ। यो औसत बजारको वृद्धि दर र अन्य शीर्ष ब्रान्डहरुको वृद्धि दर भन्दा बढी भएको एप्पल इन्साइडरले जनाएको छ।
काउन्टरपोइन्ट रिसर्च रिपोर्टका अनुसार ‘एप्पलवाच सिरिज–६’ विश्वव्यापी बजारमा बढी संख्यामा ढुवानी हुने शीर्ष स्मार्टघडी मोडल थियो। यसपछि सूचीमा ‘एप्पलवाच एसइ’, ‘सामसङ ग्यालेक्सी वाच एक्टिभ–२’, ‘एप्पलवाच सिरिज–३’ र ‘इल्मो जेड–६ ४–जी’ छ।