साओमीको नयाँ फ्ल्यागसिप फोन ‘साओमी–१२’को उत्पादनको काम अगाडि बढिरहेको छ। कम्पनीले यो स्मार्टफोनमा प्रिमियम फिचर समावेश गर्ने आशा धेरैको छ र यससँगै अहिले इन्टरनेटमा ‘साओमी–१२’मा हुनसक्ने केही फिचरहरु लिक भएको छ।
ग्याजेट ३६०का अनुसार ‘साओमी–१२’मा ५० मेगापिक्सलको तीनवटा क्यामरा सेन्सर हुने अनुमान छ। यो सेन्सर फोनको रियर क्यामरामा हुनेछ। यसमा पाँचगुणा बढी पेरिस्कोप सेटअप हुनेछ, जसबाट फोनको क्यामराले जुम गर्दापनि फोटो राम्रो गुणस्तरको आउने बताइएको छ।
चीनका चर्चित टिपस्टर डिजिटल च्याट स्टेशनले साओमीको नयाँ स्मार्टफोनको जानकारी लिक गरेको हो। उनीहरुका अनुसार ‘साओमी–१२’मा ५० मेगापिक्सलको मुख्य क्यामरा, ५० मेगापिक्सलको अल्ट्रा–वाइड लेन्स र ५० मेगापिक्सलको टेलिफोटो लेन्स हुनेछ।
यसैगरी आफ्नो फोनको जुन क्वालिटी बढाउन साओमी दशगुणा बढी पेरिस्कोप सेटअपमा पनि काम गरिरहेको हल्ला छ। तर यो पेरिस्कोप सेटअप ‘साओमी–१२’मा नभइ कम्पनीको आउँदो १२ सिरिजका स्मार्टफोनमा हुने भनिएको छ।
तीनवटा रियर क्यामरा नै ५० मेगापिक्सलको हुने ‘साओमी–१२’ पहिलो स्मार्टफोन भएको ग्याजेट ३६०ले जनाएको छ। यसअघि साओमीले आफ्नो ‘एमआई ११ अल्ट्रा’ फोनमा ५० मेगापिक्सलको मुख्य क्यामरा, ४८ मेगापिक्सलको अल्ट्रा–वाइड लेन्स र ४८ मेगापिक्सलको टेलिफोटो लेन्स राखेको थियो।
यसका साथै फोनमा एलटिपिओ एमोलेड डिस्प्लेसहित १२० हर्जको रिफ्रेस रेट हुनेछ। यो फोन स्न्यापड्रैगन ८९८ चिपसेटले बन्ने अनुमान गरिएको छ।
‘साओमी–१२’का क्यामराबारे र अन्य फिचरहरु चिनियाँ टिपस्टरका अनुमान मात्र भएको हुनाले उपभोक्तालाई यसमा पूर्णरुपमा विश्वास नगर्न ग्याजेट ३६०ले बताएको छ।