सामसङले गत अगस्टमा दुई नयाँ स्मार्टघडी ‘ग्यालेक्सी वाच–४’ र ‘ग्यालेक्सी वाच–४ क्लासिक’ सार्वजनिक गरेको थियो। कम्पनीले यी दुई नयाँ घडी नेपाली बजारमा पनि ल्याएको छ।
‘ग्यालेक्सी वाच–४’ र ‘ग्यालेक्सी वाच -४ क्लासिक’ दुई फरक डिस्प्ले आकार र रिजोलुसनमा आएको छ। ‘ग्यालेक्सी वाच–४’ मा १.२ इन्चको प्यानल छ र ‘ग्यालेक्सी वाच -४ क्लासिक’ मा १.४ इन्चको प्यानल छ।
यसका आकार इन्चले थोरैमात्र भएपनि ‘ग्यालेक्सी वाच–४ क्लासिक’मा भएको रोटेटिङ बेजेलले यो अलि ठूलो देखिन्छ।
कम्पनीका अनुसार यी दुई नयाँ स्मार्टघडीमा इक्सीनोस डब्लु ९२० एसओसी प्रोसेसर छ। यसमा १.५ जिबीको र्याम र १६ जिबीको आन्तरिक स्टोरेज छ। सामसङको पुराना स्मार्टघडीका मोडलहरुमा १ जिबी र्याम र ८ जिबी आन्तरिक स्टोरेज हुने गरेको थियो।
‘ग्यालेक्सी वाच–४’ मा गोरिला ग्लास डिएक्स प्लस प्रोटेक्सन छ भने ‘ग्यालेक्सी वाच–४ क्लासिक’मा गोरिला ग्लास डिएक्स प्रोटेक्सन छ। आइपी ६८ रेटिङ पाएको यो दुई स्मार्टघडी धुलो र पानी प्रतिरोधी पनि हो।
यससँगै यी स्मार्टघडीमा तीनवटा सेन्सर छ, जसले प्रयोगकर्ताको मुटुको धड्कन, रक्तचाप, रगतमा अक्सीजनको मात्रा चेक गर्छ।
नेपाली बजारमा ४० एमएमको ‘ग्यालेक्सी वाच–४’को मूल्य ३६ हजार ९ सय ९९ रुपैयाँ छ। ४४ एमएम मोडलको मूल्य भने ३४ हजार ९ सय ९९ रुपैयाँ छ।
यस्तै ४२ एमएमको ‘ग्यालेक्सी वाच–४ क्लासिक’को मूल्य ४९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ। यसमा ४६ एमएम मोडलको मूल्य भने ४९ हजार ९ सय ९९ छ।