एक यूक्रेनी इ–कमर्स साइटले आउँदो ‘आइफोन–१३’ सिरिजका सबै जानकारीहरु लिक गरेको छ।
एप्पलले आधिकारिक रुपमा ‘आइफोन–१३’ सार्वजनिक गर्नुअघि नै सो अनलाइन पसलले नयाँ आइफोन कस्ता रङ र स्टोरेज क्षमतामा आउनेछ भनेर जानकारी दिएको एप्पल इन्साइडरले जनाएको छ। साइटमा हरेक ‘आइफोन–१३’का मोडलको फोटो भने देखाएको थिएन।
कम्पनीले आफ्नो स्मार्टफोन बजारमा ल्याउनु अघि विक्रेताहरुले त्यसका फिचरबारे सबै जानकारी पाइसकेका हुन्छन्। नयाँ स्मार्टफोन सबैभन्दा अगाडी बिक्री गर्न विक्रताबिच प्रतिस्पर्धा हुने गर्छ। यो पटक भने विक्रेताकै कारण ‘आइफोन–१३’ सिरिजका स्मार्टफोनका फिचर लिक भएको छ।
एप्पल इन्साइडरका अनुसार एक व्रिकताले नयाँ ‘आइफोन–१३ मिनी’ छ वटा रङ आउनेछ। जसमा कालो, निलो, बैजनी, गुलाबी, सेता र रातो रङ हुनेछ। ‘आइफोन–१३’ मोडलपनि यिनै रङमा उपलब्ध हुनेछ।
यसैगरी ‘आइफोन–१३ प्रो’ र ‘आइफोन–१३ प्रो म्याक्स’ ब्ल्याक, सिल्भर, गोल्ड र ब्रोन्ज रङमा आउनेछ।
स्टोरेजमा भने ‘आइफोन–१३ मिनी’मा ६४ जिबी र १२८ जिबी स्टोरेज क्षमता हुनेछ। ‘आइफोन–१३’ र ‘आइफोन–१३ प्रो’ १२८ जिबी र २४६ जिबी स्टोरेजका साथ आउनेछ। ‘आइफोन–१३ प्रो म्याक्स’ २५६ जिबी र ५१२ जिबी विकल्पका साथ उपलब्ध हुनेछ।
पहिले पनि यूक्रेनी साइटहरु नयाँ स्मार्टफोनका रङ र क्षमताका जानकारी लिक गरेको कारण चर्चित थियो। यी साइटहरुले गर्ने लिक पचास प्रतिशत मिलिरहेको हुन्छ। यिनलाई सार्वजनिक नभएको स्मार्टफोनका जानकारी स्रोतहरु को हुन् भन्ने हालसम्म पत्ता नलागेको एप्पल इन्साइडरको भनाइ छ।