चिनियाँ स्मार्टफोन कम्पनी साओमीले आफ्नो नयाँ स्मार्टफोन बजारमा चाडैँ ल्याउने घोषणा गरेको छ।
नेक्स्टपिटका अनुसार साओमीले यही सेप्टेम्बर १५ मा नयाँ ‘एमआई ११–टी प्रो’ स्मार्टफोन सार्वजनिक गर्ने भएको हो। यो स्मार्टफोनमा नयाँ हाइपरचार्ज फास्ट चार्जिङ प्रविधि हुनेछ। जसले हालको ‘एमआई ११ प्रो’ स्मार्टफोनभन्दा दोब्बर पावर दिनेछ।
‘एमआई ११–टी प्रो’मा हुने हाइपरचार्ज चार्जरमा १२० वाटको पावर प्रयोग हुनेछ। यस्तो चार्जिङ पावर पहिल्यै ‘एमआई १० अल्ट्रा’मा देखिइसकेको थियो, तर सन् २०२० मा सार्वजनिक भएको सो स्मार्टफोन चिनियाँ बजारमा मात्र उपलब्ध थियो।
साओमीले हालै २०० वाट पावर भएको चार्जरपनि सार्वजनिक गरिसकेको छ। यसले चार हजार एमएएच ब्याट्री भएको ‘एमआई ११ प्रो’ स्मार्टफोन आठ मिनेटमा नै पूरा चार्ज गरेको कम्पनीले देखाएको थियो। तै यस्ता फास्ट चार्जिङ गतिले स्मार्टफोनको ब्याट्रीको आयु घटाउन सक्ने नेक्स्टपिटको भनाइ छ।
स्मार्टफोनको सुरक्षा र ब्याट्रीको आयुबारे कुरा गर्दै साओमीले कसरी यस फास्ट चार्जिङ प्रविधिले स्मार्टफोनको ब्याट्री र एसओसीमा मात्र नभई युएसबी–सी पोर्ट र मदरबोर्डमा रियल टाइम तापक्रमको निगरानी पनि गर्छ भन्ने कुरा प्रकाशित गरेको छ।
कम्पनीका अनुसार यो फास्ट चार्जिङ प्रविधि ‘एमआई ११ प्रो’, ‘एमआई ११–टी प्रो’ जस्ता ठूला मोडलमा मात्रै प्रयोग गर्न सकिन्छ।