फोल्डएबल फोन सिरिजमा ‘ग्यालेक्सी जेड फोल्ड–२’ ले विश्वबजारमा पाएको सफलतापछि सामसङले गत अगस्टमा नयाँ ‘ग्यालेक्सी जेड फोल्ड–३’ ल्याएको थियो।
यो फोन नेपालमा भित्रिएको पनि लगभग एक महिनाबढी भइसक्यो। योसँगै कम्पनीको हालसम्म आफ्नो फोल्डएबल फोन उत्पादनलाई निरन्तरता दिइरहेको देखिन्छ।
सामसङले सन् २०१९ मा आफ्नो पहिलो फोल्डएबल फोन ग्यालेक्सी फोल्ड सार्वजनिक गरेको थियो। यो विश्वका अधिकांश देशमा उपलब्ध भएको पहिलो फोल्डएबल स्मार्टफोन थियो। त्यो बेला ग्यालेक्सी फोल्डको व्यापार राम्रो हुन नसके पनि कम्पनीले फोल्डएबल फोनको उत्पादन रोकेन।
पहिलो फोल्डएबल फोन सार्वजनिक गरेको दुई वर्षपछि अहिले सामसङ फोल्डएबल फोन उत्पादन गर्ने प्रमुख कम्पनीको रूपमा परिचित छ। फोल्डएबल फोनको बजारमा सामसङ पहिलो स्थानमा आउँछ। यसका फोल्डएबल स्मार्टफोनमा भएको फ्लेक्जिबल ओएलइडी डिस्प्ले टेक्नोलाजीलाई हालसम्म अन्य कुनै कम्पनीका फोल्डएबल फोनलाई जित्न सकेको छैन।
यो त भयो फोल्डएबल स्मार्टफोनको बजारमा सामसङले बनाएको स्थानको जानकारी। अब कुरा गरौं कम्पनीको नयाँ फोल्डएबल फोन ग्यालेक्सी जेड फोल्ड–३ sf विशेषताबारे।
सुरुमा ग्यालेक्सी जेड फोल्ड–३ को लुक्स हेरौं। यो फोनको लम्बाइ १५८.२ एमएम छ। फोन फोल्ड गर्दा यसको चौडाइ ६७.१ एमएम र फोल्ड नगर्दा चौडाइ १२८.१ एमएम हुन्छ। फोन मोटाइ भने १४.४ एमएम छ।
यसको तौल २७१ ग्राम छ। फोन अलि लामो र भारी भएको हुनाले पकेटमा राख्न समस्या भने हुन सक्छ।
यो फोनको दायाँतिर भोल्युम अप–डाउन र पावर बटन छ। बायाँतिर सिम स्लट देख्न सक्छौं। पछाडि तीन वटा क्यामरा छ। यसको टेक्स्चर पनि निकै स्मुथ छ।
ग्यालेक्सी जेड फोल्ड–३ मा दुइटा स्क्रिन छ, बाहिर र भित्र। बाहिरी अर्थात् कभर स्क्रिनमा ६.२ इन्चको एचडी प्लस डाइनामिक एमोलेड २–एक्स इन्फिनिटी–ओ डिस्प्ले छ।
यसको भित्रपट्टी अर्थात् मुख्य स्क्रिनमा ७.६ इन्चको क्युएक्सजिए प्लस डाइनामिक एमोलेड २–एक्स इन्फिनिटी फ्लेक्स डिस्प्ले छ। यी दुवै डिस्प्लेमा १२० हर्जको रिफ्रेस रेट छ, जसले गर्दा फोनमा स्मुथ स्क्रोलिङ अुनभव पाउन सकिन्छ।
सुपर क्लियर ग्लास भएको यो फोन क्रोनिङ गोरिला ग्लासले बनेको छ। यसको फ्रेम र हिन्च आर्मर आलुमिनियमले बनेको छ। यसले फोनलाई बलियो र टिकाउ हुन्छ।
अब यसको क्यामराबारे कुरा गरौं।
ग्यालेक्सी जेड फोल्ड–३ मा तीन वटा रियर क्यामरा, एउटा सेल्फी क्यामरा र एउटा अन्डर–डिस्प्ले क्यामरा छ। रियर क्यामरातर्फ हेर्दा हामीले १२ मेगापिक्सलको अल्ट्रा–वाइड क्यामरा, १२ मेगापिक्सलको वाइड–एंगल क्यामरा र १२ मेगापिक्सलको टेलिफोटो क्यामरा पाउन सक्छौं।
यसमा १० मेगापिक्सलको सेल्फी क्यामरा छ र यसमा ४ मेगापिक्सलको अन्डर–डिस्प्ले क्यामरा छ। यो अन्डर–डिस्प्ले क्यामरा नांगो आँखाले हेर्न गाह्रो पर्छ। त्यसैले फोनको फ्रन्ट डिस्प्लेको फिनिसिङ निकै राम्रो देखिन्छ।
यो फोल्डएबल फोनबाट हामीले रियर क्यामराबाट पनि सेल्फी खिच्न सक्छौं। फोटो खिचेपछि ग्यालरीमा गइ फोटो खोतल्नु पर्दैन। यदि हामीले अन्डर–डिस्प्ले क्यामराबाट फोटो खिच्यौं भने हाम्रा फोटोहरू छेउको बारमा हेर्न सक्छौं।
यसका अन्य क्यामरा फिचरहरूमा डुअल प्रिभ्यु, पोट्रेट भिडिओ, प्रो भिडिओ, सुपर स्लो–मो, हाइपर ल्याप्स, क्याप्चर भ्यु छ।
भिडिओको कुरा गर्दा, हामीले यसमा ४–के युएचडी भिडिओ रिकर्डिङ पाउन सक्छौं। साथै यो फोनमा सुपर स्टेडी, सुपर स्लो–मो, स्लो मोसन र हाइपरल्याप्स भिडिओ सपोर्ट छ। भिडिओमा हामीले दस गुणासम्म जुमअप गर्न सक्छौं।
ग्यालेक्सी जेड फोल्ड–३ बाट हामीले मल्टिटास्किङ पनि गर्न सक्छौं। यसको फ्रन्ट स्क्रिनमा हामीले दुई-तीनवटा विन्डोज एकैचोटि चलाउन सक्छौं।
यदि तपाईंले फोनमा एउटा एप खोल्नुभएको छ र अरू एप पनि सँगै हेर्न चाहनुहुन्छ भने स्क्रिन दायाँपट्टी स्वाइप गर्नुस्, त्यहाँ एउटा एज प्यानल हुन्छ। अनि आफूलाई मनपर्ने एप स्क्रिनतर्फ ड्रयाग गर्नुहोस्। यसरी हामीले मल्टिटास्किङ गर्न सक्छौं।
फोनमा भएका अधिकांश एपले मल्टिविन्डोज सपोर्ट गर्छ। यदि कुनैले सपोर्ट गरेन भने फोनको सेटिङमा गइ ‘एक्टिभेट एप फर मल्टिविन्डोज’ विकल्प अन गर्न सकिन्छ।
ग्यालेक्सी जेड फोल्ड–३ को अर्को विशेषता भनेको हामीले बिना स्ट्यान्ड गेम खेल्न, भिडियो कल गर्न, टिकटक बनाउन, भ्लगिङ गर्न सक्छौं। साथै यसमा ल्यापटपमा जस्तै टास्कबार पनि छ। हामीले आफूलाई मनपर्ने एपहरू यो टास्कबारमा राख्न सक्ने भयौं।
यो फोनको ब्याट्री पफर्मेन्स पनि राम्रो छ। यसमा ४४०० एमएएचको डुअल ब्याट्री छ। त्यस्तै ग्यालेक्सी जेड फोल्ड–३ मा २५ वाटको फास्ट चार्जिङ, १० वाटको फास्ट वायरलेस चार्जिङ र ४.५ वाटको रिभर्स वायरलेस चार्जिङ छ।
अक्टा–कोर क्वालकम स्न्यापड्रैगन ८८८ प्रोसेसर भएको यो फोल्डएबल फोन १२ जिबी र्याममा २५६ वा ५१२ जिबी इन्टरनल स्टोरेजको विकल्पका साथ आएको छ।
ग्यालेक्सी जेड फोल्ड–३ मा स्टेरियो स्पिकर छ, जुन डल्बी एटोम टेक्नोलोजीले बनेको छ। यो स्पिकरबाट हामी अल्ट्रा हाइ क्वालिटीको अडिओ सुन्न सक्छौं, अर्थात् भिडिओ हेर्दा वा गेम खेल्दा त्यसको आवाज ठूलो र प्रस्ट सुनिन्छ।
आइपिएक्सबाट रेटिङमा ८ पाएको ग्यालेक्सी जेड फोल्ड–३ पानी प्रतिरोधी छ। यो फोन डेढ मिटर गहिरो पानीमा आधा घण्टासम्म डुब्यो भने पनि केही क्षति नहुने कम्पनीको दाबी छ।
अन्य फिचरको कुरा गर्दा यसको छेउमा फिंगरप्रिन्ट सेन्सर छ र सुरक्षाका लागि फेस रिकग्निसन, प्याटर्न, पिन, पासवर्ड लक टाइप छ।
ग्यालेक्सी जेड फोल्ड–३ को अर्को मुख्य कुरा भनेको यसमा एस–पेनले सपोर्ट गर्छ। एस–पेन सामसङ स्मार्टफोनमा लेख्न मिल्ने कलम हो। यसपटक कम्पनीले ग्यालेक्सी जेड फोल्ड–३ कै लागि भनेर पहिलोपटक नयाँ एस–पेन ल्याएको हो। ग्यालेक्सी जेड फोल्ड–३ किन्दा भने एस–पेन बक्समा आउँदैन। यो हामीले छुट्टै किन्नु पर्ने हुन्छ।
अहिले बजारमा ग्यालेक्सी जेड फोल्ड–३ फ्यान्टम ब्ल्याक, फ्यान्टम ग्रिन र फ्यान्टम सिल्भर रङमा उपलब्ध छ। २५६ जिबीको ग्यालेक्सी जेड फोल्ड–३ मूल्य दुई लाख तीस हजार रूपैयाँ पर्छ। यसैगरी ५१२ जिबीको मोडलको मूल्य भने दुई लाख ४५ हजार रूपैयाँ छ।