कोरोना महामारीका कारण बजारमा मोबाइल अभाव भएको छ।
उपभोक्ताको मागअनुसार बजारमा मोबाइल उपलब्ध नभएको नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराईले जानकारी दिए।
उनका अनुसार अहिले बजारमा १० देखि ५० हजार मूल्य पर्ने फोनको मौज्दात न्यून छ।
‘सबैभन्दा बढी ग्राहकले रूचाएको फोन यही रेञ्जको छ। यी नै फोन बजारमा छैनन्,’ उनले भने।
यो रेञ्जको फोन मध्यम वर्गको लागि सुहाउँदो र उनीहरूले चाहेका सबै फिर्चस भएकाले ग्राहकको माग बढेको उनको भनाइ छ।
महामारीका कारण विद्यालय तथा कार्यालयका काम घरबाटै हुने भएपछि मोबाइल लगायत अन्य इलेक्ट्रोनिक्स सामग्रीको माग बढेको थियो।
त्यससँगै सरकारले अनाधिकृत रूपमा भित्रिएको फोन नचल्ने भनेर निर्णय गरेपछि झनै फोनको बजार बढेको महासंघका अध्यक्ष भट्टराई बताउँछन्।
अहिले मोबाइल अभावको कारण ग्राहकले आफूले चाहेको फोन पाउन सकेका छैनन्।
उत्पादक कम्पनीले नेपाली बजारका लागि मोबाइलको परिमाण बढाइदिए व्यवसायी र उपभोक्ता दुवैलाई केही राहत हुने भट्टराई बताउँछन्। उनका अनुसार उपभोक्ताहरू बजारमा जस्तो उपलब्ध हुन्छ त्यस्तै फोन लैजान बाध्य छन्।
‘पहिले फोनको माग धेरै हुँदैन थियो। अहिले माग बढेको बेला बेच्न मोबाइल छैन,’ उनले भने, ‘दसैंको मुखमा व्यापार गर्न पाइएन।’
विश्व बजारमा नै मोबाइलको अभाव भएको मोबाइल फोन इम्पोर्टस् एसोसिएशनका अध्यक्ष दीपक मल्होत्राले बताए।
‘महामारीले गर्दा चिपसेट उत्पादन हुन सकेको छैन,’ उनले भने, ‘मोबाइल लगायत अन्य इलेक्ट्रोनिक्स डिभाइसकै अभाव छ।’
नेपालका लागि सामसङ फोन आयातकर्ता समेत रहेका मल्होत्राले सामसङको पछिल्लो उत्पादन ग्यालेक्सी जेड फोल्ड–३ र फ्लिप–३ फाइभ–जी प्रि बुकिङमै मौज्दात सकिएर बन्द गर्नु परेको बताए।
दसैंका लागि भने अझै दुईचार दिन केही मात्रामा फोन आउन सक्ने उनको भनाइ छ।
अन्य देशको तुलनामा चीनमा श्रम शक्ति सस्तो भएकाले एप्पल, सामसङ, शाओमी, ओपो, भिभो लगायत सबै कम्पनीका फोन त्यही बन्छन्।
सुरूआतमै चीनबाट महामारी फैलिएको हुनाले चिपसेट उत्पादन हुन नसकेको हो।