केही दिनअघि भएको क्यालिफोर्निया स्ट्रिमिङ इभेन्टमा एप्पलले नयाँ ‘आइफोन–१३’ सिरिजका स्मार्टफोन सार्वजनिक गरेको थियो। योसहित कम्पनीले आफ्ना ‘आइप्याड’, ‘आइप्याड मिनी’ र ‘एप्पल वाच सिरिज ७’मा नयाँ अपडेट थपेको थियो। एप्पलले लगातार गरेको प्रगतिपछि अब कम्पनीको अर्को उपकरण कहिले सार्वजनिक गर्ला भन्ने प्रश्न उठेको छ।
एप्पल इन्साइडरका अनुसार एप्पलले यो वर्षको अन्त्यसम्म नयाँ एप्पल सिलिकन म्याक र एयरपोड्स ल्याउने तयारी गरिरहेको छ। तर, उपभोक्ताले अन्य ठूलो उपकरणका लागि भने अर्को वर्षसम्म नै प्रतिक्षा गर्नुपर्ने हुन्छ।
कम्पनीले सन् २०२१ का लागि अझै केही उपकरण सार्वजनिक गर्न तयार पारेर राखेको छ, जसमा नयाँ म्याकबुक प्रोका मोडल र एयरपोड्स चाडैँ बजारमा आउने ब्लुमबर्गका मार्क गुर्मानले बताएका छन्। योसँगै एप्पलले यस वर्ष दुई ठूला कार्यक्रम आयोजना गर्ने छ।
गुर्मानका अनुसार सन् २०२२ मा पनि एप्पलले एकदुईवटा उपकरण सार्वजनिक गर्न सक्छ। यो सूचीमा एप्पल सिलिकन भएको अपडेटेट म्याक प्रो, अपडेटेट म्याकबुक एयर र सिसाले बनेको आइप्याड प्रो हुने अनुमान छ। यसमा कम्पनीले नयाँ एयरपोड्स पनि थप्न सक्ने बताइएको छ। सो एयरपोड्समा फिटनेस ट्रयाक गर्न सक्ने सेन्सर राखिएको हुनेछ।
यसैगरी अर्को वर्ष एप्पलले एआर र भिआर फिचर भएको मिक्स्ड–रियालिटी हेडसेट पनि बजारमा सार्वजनिक गर्न सक्ने मार्क गुर्मानको अनुमान छ।