ट्विटरले आफ्नो भिडियो मेकिङ एप भाइन बन्द गरेको पाँच वर्षपछि टिकटकले विश्वकै बढी रुचाइएको भिडियो एप बनेको छ।
सोमबार आफ्नो ब्लग पोस्टमार्फत टिकटकले नयाँ सफलता घोषणा गरेको छ, जसमा एपको अहिले विश्वभर एक अर्ब प्रयोगकर्ता पुगेको इन्ग्याजेटले जनाएको छ।
एक वर्षअघि ट्रम्पको प्रशासनले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने धम्की समेत दिएको थियो। यता भारतले पनि यो चिनियाँ एपलाई आफ्नो देशमा प्रतिबन्ध लगाएको छ। विश्वका ठूला शक्तिशाली देशले लगाएको बाधापछि पनि टिकटकले एक अर्ब सक्रिय प्रयोगकर्ता कमाउन सफल भएको छ।
टिकटकको यो सफलता निकै छोटो समय अवधिमा भएको देखिन्छ। यो एप सन् २०१८ देखि विश्वभर उपलब्ध भएको हो। इन्स्टाग्रामलाई यही सफलता पाउन आठ वर्ष लागेको थियो। फेसबुकले इन्स्टाग्राम किनेको ६ वर्षपछि मात्र यो एपको एक अर्ब प्रयोगकर्ता भएको थियो।
टिकटकको उचाइ र छोटो भिडियो बनाउने कन्टेन्टको सिको गर्दै इन्स्टाग्राम र युट्युबले पनि टिकटकजस्तै इन्स्टाग्राम रिल्स र युट्युब सर्ट्स एप ल्याएको इन्ग्याजेटको भनाइ छ।
टिकटक प्रयोगकर्ताको संख्या विशेषगरी कोरोना महामारीको समय बढेको हो। त्यतिबेला धेरैले आफ्नो खाली समय टिकटक भिडियो बनाउँदै बिताए र कयौँ ठूला सेलिबे्रटीपनि यो एपमा देखिन थाले, जसले गर्दा एपले अझ चर्चा पायो। गत वर्ष टिकटकले आफ्ना प्रयोगकर्तालाई कन्टेन्ट बनाउन प्रोत्साहन गर्न एक अर्ब अमेरिकी डलरको कोष समेत ल्याएको थियो।