डिजिटल प्रतिभा विकास इकोसिस्टमको एक अंशको रूपमा हुवावेले सिड्स फर द फ्युचरको सुरुआत गरेको छ।
हुवावेले नेपालमा यो कार्यक्रम ल्याएको यो पहिलो वर्ष हो। कार्यक्रम पहिलो पटक थाईल्याण्डमा २००८ मा सुरु भएको थियो।
तब देखि १३० देश र क्षेत्रहरुबाट ९ हजार विद्यार्थीहरु कार्यक्रममा सहभागी भइसकेका छन्। यस वर्ष एक प्रतिस्पर्धी आवेदन प्रक्रियाबाट छनौट गरी २० जना विद्यार्थीहरुले अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिन पाउनेछन्।
कार्यक्रममा हुवावेले निर्णायक समितिको समेत परिचय दिएको थियो। जसमा प्रो. डा. शशिधर राम जोशी, प्रो. डा. सुवर्ण शाक्य र प्रो. तिमिला यामी रहेका छन्।
यस कार्यक्रमले विद्यार्थीहरुलाई ८–दिने अन्तरक्रियात्मक अनलाइन अनुभव दिनेछ। अनलाइन कार्यक्रमको दौरान विद्यार्थीहरुले एन्ट्री लेभल र एड्भान्स प्राविधिक कोर्स पाउने छन्।
जसमा भर्चुअल टुरको माध्यमबाट चीनको अनुभव विशेषज्ञहरुबाट साइबरसुरक्षा देखि एयरोस्पेस उद्योगबारे विस्तृत दृष्टिकोण सुन्ने र अन्य देशहरुसँग क्रस–कल्चरल एक्सचेन्ज हुनेछ।
प्रेस मिटमा प्रोफेसर यामीले कम्पनी र कार्यक्रमको लागि उत्साहजनक साथ रहेको बताइन्।
'मेरा सहकर्मीहरु र म यो कार्यक्रमलाई सफल बनाउन धेरै मेहनत गर्नेछौं। सिड्स फर द फ्युचरले सफलता पाउने छ र बदलामा कार्यक्रमले विद्यार्थीहरुको लागि इनोभेसनलाई प्रोत्साहित गर्दछ जुन नेपालको लागि महत्वपूर्ण हुनेछ,' उनले भनिन्।