सामसङले आफ्नो ए सिरिज स्मार्टफोनअन्तर्गत नयाँ ‘सामसङ ए–१३ ५–जी’ ल्याउने भएको छ। कम्पनीले यो फोन आफ्नो ए सिरिज स्मार्टफोनमध्ये सबैभन्दा सस्तो मोडल हुने बताएको छ।
सामसङले ‘सामसङ ए–१३ ५–जी’ सन् २०२२ को सुरुआतमा सार्वजनिक गर्ने भनिएको छ। योसँगै यस फोनका फिचरहरु इन्टरनेटमा पोस्ट भइरहेको छ।
नयाँ ‘सामसङ ए–१३ ५–जी’मा ६.४८ इन्चको एचडी प्लस आइपिएस एलसीडी डिस्प्ले हुनेछ। यो डिस्प्लेमा वाटरड्रप स्टाइल डिजाइन हुनेछ।
यो स्मार्टफोनमा मिडियाटेक डाइमेनसिटी ७०० एसओसी प्रोसेसर हुनेछ। यसमा चार जिबी र्याम र ६४ जिबी आन्तरिक स्टोरेज हुनेछ। साथै यो फोन आठ जिबी र्याममा १२८ जिबी आन्तरिक स्टोरेज भएको मोडलमा पनि आउने ग्याजेट ३६०ले जनाएको छ।
लिंकहरुका अनुसार ‘सामसङ ए–१३ ५–जी’मा तीनवटा क्यामरा हुनेछ, जसमा ५० मेगापिक्सलको प्राइमेरी वाइड सेन्सर, ५ मेगापिक्सलको अल्ट्रा वाइड सेन्सर र २ मेगापिक्सलको डेप्थ सेन्सर छ।
यसैगरी यो फोनमा ५ हजार एमएएचको ब्याट्री हुनेछ जसले २५ वाटको फास्ट चार्जिङ समर्थन गर्छ।
‘सामसङ ए–१३ ५–जी’ कालो, निलो, रातो र सेतो रङमा उपलब्ध हुनेछ। यसको मूल्य २१ हजार सात सय भारु हुन सक्ने अनुमान गरिएको छ।