ओपोले आफ्नो पहिलो फोल्डएबल फोन उत्पादन गरिरहेको हल्ला भएको पनि धेरै लामो समय भइसक्यो। ओपोले फोल्डएबल फोन सन् २०२१ तिर ल्याउने भनिएको थियो र अब भने कम्पनीले यो स्मार्टफोन अर्को महिना सार्वजनिक गर्न सक्ने अनुमान भइरहेको छ।
हाल चीनमा फैलिएको हल्लाअनुसार ओपोले आफ्नो पहिलो फोल्डएबल फोन आउँदो नोभेम्बर महिनामा सार्वजनिक गर्नेछ। यो फोल्डएबल फोनको भित्रपट्टि ८ इन्चको इन्टर्नल डिस्प्ले हुनेछ, जसमा १२० हर्जको रिफ्रेस रेट हुनेछ। यो डिस्प्लेमा एलटिपिओ टेक्नोलोजी हुनेछ, जुन सामसङले उत्पादन गर्छ।
यसैगरी यो स्मार्टफोनमा ५० मेगापिक्सलको मुख्य क्यामरा र ३२ मेगापिक्सलको सेल्फी क्यामरा हुने भनिएको छ। साथै यसमा सुरक्षाका लागि साइड–माउन्टेड फिंगरप्रिन्ट सेन्सर हुने अनुमान छ।
जिएसएम एरेनाका अनुसार यो फोल्डएबल फोनमा क्वालकम स्न्यापड्रैगन ८८८ प्रोसेसर हुनेछ।
ओपोको फोल्डएबल फोन सस्तो नहुने लिकस्टरले बताएका छन्। यो फोन विश्वबजारमा उपलब्ध हुने वा नहुने कुरापनि निश्चित भएको छैन। चिनियाँ बजारमा भने चाँडै उपलब्ध हुने हल्ला छ।