गत सेप्टेम्बर २७ मा मिक्काइ समाज अर्थात् 'द मेडिकल इमेज कम्प्युटिङ एन्ड कम्प्युटर असिस्टेड इन्टर्भेन्सन सोसाइटी'ले एक चुनौती आयोजना गरेको थियो। मिक्काइ एक व्यवसायिक संस्था हो जसले विशेषगरी चिकित्सा क्षेत्रलाई प्रविधिमार्फत् विकास गर्ने विषयमा केन्द्रित छ। त्यस्तै कम्प्युटर, रोबोटिक्स, भौतिक विज्ञान क्षेत्रसहित विभिन्न विधाका वैज्ञानिकहरूलाई समेट्छ।
यसले हरेक साल विश्वभरका अध्येता तथा अनुसन्धाताहरूका लागि मिक्काइ सम्मेलन गर्छ। यस सम्मेलनले मिक्काइसँग सम्बन्धित विषयहरूमा भएका अध्ययन तथा प्रकाशनहरूका बारेमा जानकारी दिइन्छ। यसबाहेक मिक्काइले हरेक वर्ष विभिन्न वैज्ञानिक कार्यक्रमहरूको प्रायोजन पनि गर्छ।
मिक्काइबारे यति चर्चा किन भन्नुहोला। यस वर्ष मिक्काइले आफ्नो सम्मेलनमा 'इन्डोस्कोपिक भिजन च्यालेन्ज' नामक चुनौती गरेको थियो। यो च्यालेन्जमा संसारका विभिन्न देशबाट तीसवटा समूह सहभागी भएका थिए। यसमा नेपालबाट पनि एक समूह सहभागी थियो। र, नेपालीको त्यही समूह यो चुनौतीको विजेता भएको छ।
उक्त समूहमा युनिभर्सिटी कलेज लन्डनका वरिष्ठ अनुसन्धन वैज्ञानिक विनोद भट्टराई र उनका दुई विद्यार्थी रोनष्ट सुवेदी र रेवतीरमण गैरे सहभागी थिए। २२ वर्षीय रोनष्ट र रेवतीले हालै पुल्चोक इञ्जिनियरिङ कलेजबाट स्नातक सकेका हुन्।
विनोदका अनुसार सम्मेलनमा सबै समूहलाई न्यूरल नेटवर्क बनाउने चुनौती दिइएको थियो, जसमा फिटशकोपिक्क फोटोमा गर्भेको भुर्ण, रक्तबाहिनी र सल्यक्रियामा प्रयोग हुने औजारलाई पत्ता लगाई एक अर्काबाट ठ्याक्कै छुट्याउनुपर्ने थियो। यसका लागि विश्वका रसिया, इटाली, क्यानेडा, बेलायत, भारत, चीनलगायत १६ देशहरूबाट करिब ३३ समूहले प्रतिस्पर्धा गरेका थिए। ती समूहबाट करिब दुई हजार अनुसन्धान पत्र र प्रविधिहरू बनाएर बुझाइएको थियो।
त्यसैमध्येबाट यो चुनौतीको विजेता नेपाली समूह भएका हुन्।
इन्डोस्कोपिक भिजन च्यालेन्जका निम्ति यो रोनष्ट र रेवतीले आफ्नो नेतृत्व र निर्देशनमा न्यूरल नेटवर्क बनाएका विनोदले बताए।
'हामीले यस्तो किसिमको न्यूरल नेटवर्क बनाउनुपर्ने थियो जसले फोटो हरेर शरीरभित्रको रोग ठ्याक्कै पत्ता लगाउनु पर्थ्यो,' सेतोपाटीसँग ह्वाट्सएपमार्फत कुरा गर्दै विनोदले भने, 'च्यालेन्जमा भाग लिएका सबै समूहले आ–आफ्नो शैलीमा अनुसन्धान गरेर यस्तै नेटवर्क बनाएका थिए। जसमा मेरा विद्यार्थी रोनष्ट र रेवतीले बनाएका नेटवर्क पहिलो भयो।'
उनीहरूले बनाएका न्यूरल नेटवर्क अस्पतालमा चिकित्सकलाई बिरामी जाँच गर्नदेखि मेडिकल विद्यार्थीलाई पढ्नसमेत प्रयोग गर्न सकिने विनोदको भनाइ छ। यो न्यूरल नेटवर्क बनाएवापत उनीहरूले पुरस्कारस्वरूप दुई हजार अमेरिकी डलर पनि पाएका छन्।
हाल विनोद लन्डनमा बस्छन्। रोनष्ट र रेवती भने नेपालमै छन्। यी तीन जनाको अहिलेसम्म भेट भएको छैन। उनीहरूले सामाजिक सञ्जालबाट कुराकानी गरेर सँगै काम गरेका हुन्।
विनोद वैज्ञानिक हुनुका साथै नामी संस्थाका सह–सञ्चालक हुन्। नामी नेपालमै स्थापित गैरनाफामूलक संस्था हो जसअन्तर्गत नेपालको आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) र कम्प्युटर विज्ञान विषयमा अनुसन्धान हुन्छ। यो संस्थाबाट उनीसहित अन्य सातजना सह–सञ्चालकले अहिलेसम्म नेपालको एआइ क्षेत्रमा थुप्रै अनुसन्धान गरिसकेका छन्। मिक्काइले आयोजना गरेको च्यालेन्ज पनि विनोदले नामीअन्तर्गत अनुसन्धान गरेर जितेका हुन्।
मिक्काइद्वारा आयोजित सम्मेलनमा संसारभरका वैज्ञानिकहरू आफ्नो काम देखाउन आउँछन्। यहाँ निकै चुनौतीपूर्ण प्रतिस्पर्धा हुन्छ। त्यसैले यस्तो चुनौतीमा नेपालको समूहले जित्नु ठूलो उपलब्धि र खुसीको कुरा भएको विनोद बताउँछन्।
'नेपालको परिवेशमा अनुसन्धान गर्ने चलन छैन। यहाँ कुनै पनि क्षेत्रको काम प्रायः बिना गहिरो अनुसन्धान नै हुन्छ। तर यसको मतलब हामीलाई अनुसन्धान गर्न नआउने होइन,' उनले भने, 'हामीले अन्तर्राष्ट्रिय अनुसन्धानको चुनौती जित्नु भनेको यहाँका विद्यार्थीमा क्षमता भएको र केवल अवसर मात्र खाँचो रहेको देखाउँछ।'
अहिले विश्वभर प्रविधि र एआइको महत्व बढिरहेको छ। सबैजसो ठूला देशहरू यस क्षेत्रको विकासमा द्रुत गतिमा दौडिरहेका छन्। नेपाललाई पनि त्यही स्थानमा पुर्याउन यो क्षेत्रमा अनुसन्धान गर्ने ट्रेन्ड बनाउनु पर्ने विनोद सुझाउँछन्।
उनका अनुसार अहिले एआइ सबै क्षेत्रका लागि उत्तिकै जरुरी छ। अझ मेडिकल क्षेत्रका लागि प्रविधिको प्रयोग निकै महत्वपूर्ण छ। यसमा उनीहरूले बनाएका न्यूरल नेटवर्क र अनुसन्धान पत्र स्वास्थ्य क्षेत्रका लागि नयाँ फड्को हुने उनले बताए।
'हामी चाँडै हामीले बनाएको नेटवर्क र अनुसन्धान पत्र सर्वसाधारणका लागि उपलब्ध गराउने छौं,' विनोद भन्छन्, 'सायद यसले बिस्तारै एआइ र अनुसन्धानको महत्व बुझाउने छ। र अरू विद्यार्थीलाई पनि आ–आफ्नो क्षेत्रमा अनुसन्धान गर्न प्रेरित गर्नेछ।'