दक्षिण कोरियाली कम्पनी सामसङ नयाँ स्मार्टफोन ‘ग्यालेक्सी ए–१३ ५–जी’ उत्पादनको तयारीमा छ।
‘ग्यालेक्सी ए–१३ ५–जी’ गत वर्ष सार्वजनिक भएको ‘ग्यालेक्सी ए–१२’को सफलतापछि आउन लागेको हो। ग्याजेट–३६०का अनुसार यो फोनबारे हालसम्म कम्पनीले कुनै आधिकारिक जानकारी दिएको छैन, तर यसका फिचरहरू इन्टरनेटमा लिक भइरहेको छ।
एक लिकले ‘ग्यालेक्सी ए–१३ ५–जी’का क्यामरा फिचर पोस्ट गरेको छ। सो लिकका अनुसार यो नयाँ स्मार्टफोनमा चारवटा क्यामरा हुनेछ, जसमा मुख्य क्यामरा ५० मेगापिक्सलको हुनेछ। पुरानो मोडल ‘ग्यालेक्सी ए–१२’मा पनि चारवटा क्यामरा थियो। यसको मुख्य क्यामरा भने ४८ मेगापिक्सलको थियो।
यसैगरी ‘ग्यालेक्सी ए–१३ ५–जी’को अन्य तीनवटा क्यामरामा भने ५ मेगापिक्सलको अल्ट्रा–वाइड सेन्सर, २ मेगापिक्सलको म्याक्रो लेन्स र २ मेगापिक्सलको डेप्थ सेन्सर हुनेछ। यसको अगाडितिर ८ मेगापिक्सलको सेल्फी क्यामरा हुने ग्याजेट–३६०ले जनाएको छ।
यो स्मार्टफोनमा ६.४८ इन्चको फुल एचडी प्लस एलसिडी डिस्प्ले र मिडियाटेक डाइमेन्सिटी ७०० एसओसी प्रोसेसर हुने बताइएको छ।
४, ६ र ८ जिबी र्याममा ६४ र १२८ जिबी आन्तरिक स्टोरेजको विकल्पका साथ आउने भनिएको ‘ग्यालेक्सी ए–१३ ५–जी’मा पाँच हजार एमएएचको ब्याट्री हुने अनुमान छ।