सामसङले हालै रसियामा आफ्नो नयाँ स्मार्टफोन ‘ग्यालेक्सी ए–२२ एस ५–जी’ सार्वजनिक गरेको छ। यो फोन गत वर्ष सार्वजनिक भएको ‘ग्यालेक्सी ए–२२ ५–जी’को रिब्याज्ड मोडल हो।
ग्याजेट ३६०का अनुसार ६.६ इन्चको फुल एचडी प्लस टिएफटी एलसीडी डिस्प्ले भएको ‘ग्यालेक्सी ए–२२ एस ५–जी’मा ९० हर्जको रिफ्रेस रेट छ। यसको डिस्प्ले माथि वाटरड्रप स्टाइलको नोच छ।
यो फोनमा तीनवटा क्यामरा छन्। जसमा ४८ मेगापिक्सलको मुख्य सेन्सर, ५ मेगापिक्सलको सेकेन्डरी सेन्सर र २ मेगापिक्सलको तेस्रो सेन्सर छ। यसको अगाडितिर भने ८ मेगापिक्सलको सेल्फी क्यामरा छ।
मिडियाटेक डाइमेन्सिटी ७०० एसओसी प्रोसेसर भएको यो नयाँ स्मार्टफोनमा ४ जिबी र्याम र ६४ वा १२८ जिबी विकल्पका साथ आएको आन्तरिक स्टोरेज छ। यो स्टोरेज माइक्रो एसडी कार्ड प्रयोग गरेर १ टिबीसम्म बढाउन सकिन्छ।
ग्यालेक्सी ए–२२ एस ५–जीमा भएको पाँच हजार एमएएचको ब्याट्रीले १५ वाटको फास्ट चार्जिङ समर्थन गर्छ।
यो फोन हरियो, खैरो र सेतो रङमा उपलब्ध छ। यसको मूल्यबारे भने अहिलेसम्म कुनै जानकारी नआएको ग्याजेट ३६०ले बताएको छ।