वानप्लसको ‘नोर्ड २ ५–जी’ स्मार्टफोन पड्किएर हालै एक प्रयोगकर्ता घाइते भएका छन्।
ग्याजेट ३६०का अनुसार गत हप्ता एक प्रयोगकर्ताले आफ्नो वानप्लसको फोन पड्किएको खबर गरेका हुन्। यस घटनाबारे कम्पनीले पनि छानबिन गरिसकेको छ। घटनामा ती व्यक्तिको शरीरको केही भाग जलेको खबर छ।
अहिले आएको नयाँ रिर्पोट अनुसार भने वानप्लसले ती प्रयोगकर्तालाई फिर्ता पैसासहित अस्पताल चेकजाँच खर्च पनि दिने भएको छ। कम्पनीका प्रमुख सञ्चालक पनि पीडितसँग सहयोगका लागि सम्पर्कमा रहेको बताइएको छ।
‘वानप्लस नोर्ड २ ५–जी’ स्मार्टफोन पड्किएको यो पहिलोपटक होइन। यसअघि नै कयौँ घटनाहरु अनलाइनमा छापिएको थियो। यो नयाँ घटनामा भने प्रयोगकर्तामा गम्भीर चोट पुगेको हुँदा ‘वानप्लस नोर्ड २’का प्रयोगकर्ताबीच प्रश्न उब्जिएको हो।
यता वानप्लसले यो घटनाबारे कुनै विस्तृत जानकारी दिएको छैन। घटनाबारे ट्विटरमा पोस्ट गरेका प्रयोगकर्ताले पनि कम्पनीले दिएको क्षतिपूर्तिबारे अपडेट दिएका छैनन्।
‘नोर्ड २ ५–जी’ जुलाइमा सार्वजनिक भएको थियो। फोन सार्वजनिक भएको एक हप्तामा नै एक प्रयोगकर्ताले फोन पड्किएको जानकारी दिएका थिए। त्यस घटना उत्पादनको समस्याले नभई बाहिरी प्रभावले भएको कम्पनीले बताएको थियो।