सामसङको नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एस–२१ एफइ’ आउँदो जनवरीमा सार्वजनिक हुने बताइएको छ।
ग्याजेट ३६०का अनुसार यो फोनको चर्चा केही समय यतादेखि भइरहेको थियो। अहिले भने यसको फोटो तथा फिचर अनलाइनमा लिक भएको छ।
‘ग्यालेक्सी एस–२१ एफइ’मा ६.४ इन्चको फुल इचडी प्लस एमोलेड डिस्प्ले हुने भनिएको छ। जसमा १२० हर्जको रिफ्रेस रेट र क्रोनिङ गोरिला ग्यालसको सुरक्षा पनि हुनेछ।
यो नयाँ फोनमा तीनवटा क्यामरा हुने अनुमान छ। यसमा मुख्य सेन्सर, डेप्थ सेन्सर र अल्ट्रा–वाइड एंगल सेन्सर हुनेछ। मुख्य क्यामरा ६४ मेगापिक्सलको हुने ग्याजेट ३६०ले जनाएको छ। यसको अगाडितिर भने ३२ मेगापिक्सलको सेल्फी क्यामरा हुनेछ।
यो फोनमा बजारअनुसार क्वालकम स्न्याप्ड्रैगन ८८८ एसओसी र एक्सीनोस २१०० एसओसी प्रोसेसर हुनेछ। जसमा १२ जिबी र्याम र २५६ जिबी आन्तरिक स्टोरेज हुनेछ।
‘ग्यालेक्सी एस–२१ एफइ’मा हुने चार हजार पाँच सय एमएएचको ब्याट्रीले १५ वाटको फास्ट चार्जिङ समर्थन गर्छ।
ग्याजेट ३६०का अनुसार ‘ग्यालेक्सी एस–२१ एफइ’को मूल्यबारे भने कुनै जानकारी आएको छैन।