नयाँ स्मार्टफोन ‘रेड्मी नोट ११–टी ५–जी’ भारतीय बजारमा यही नोभेम्बर ३० मा सार्वजनिक हुने अनुमान गरिएको छ। यो फोन गत महिना चिनमा सार्वजनिक भएको रेड्मी नोट ११ को रिब्रान्डेड संस्करण हो।
उक्त फोनको सार्वजनिक मिति कम्पनीको आधिकारिक जानकारीअनुसार भने आएको होइन। उपभोक्ताहरुले गरेको अनुमान मात्रै हो।
यसबाहेक यो फोनका फिचरबारे पनि अनलाइन थुप्रै अनुमानहरु भइरहेको छ। ‘रेड्मी नोट ११–टी ५–जी’मा ६.६ इन्चको फुल एचडी प्लस डिस्प्ले हुने, जसमा ९० हर्ज र २४० हर्जको रिफ्रेस रेट हुने उल्लेख छ।
फोटो र भिडियोका लागि यो स्मार्टफोनमा दुईवटा क्यामरा हुनेछ। यसमा मुख्य क्यामरा ५० मेगापिक्सल र ८ मेगापिक्सलको अल्ट्रा–वाइड सुटर हुनेछ। फोनको अगाडितिर भने १६ मेगापिक्सलको सेल्फी क्यामरा हुनेछ।
अक्टाकोर मिडियाटेक डाइमेन्सिटी ८१० एसओसी प्रोसेसर हुने भनिएको यो फोनमा ८ जिबी र्याम र १२८ जिबी आन्तरिक स्टोरेज हुने अनुमान छ। त्यसैगरी यसमा हुने पाँच हजार एमएएचको ब्याट्रीले ३३ वाटको फास्ट चार्जिङ समर्थन गर्ने ग्याजेट ३६०ले जानकारी दिएको छ।
रेड्मी नोट ११–टी ५–जीको मूल्यबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी आएको छैन। कम्पनीले चाँडै नै यो फोनबारे घोषणा गर्न सक्ने अपेक्षा गरिएको छ।