नेपाल टेलिकमको आम्दानी बढेको छ। गत वर्षको तुलनामा चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासिकको वित्तीय विवरणको अवस्था हेर्दा आम्दानी बढेको देखिएको हो।
गत आवको प्रथम त्रैमासिक अवधिमा कम्पनी सञ्चालन आय आठ अर्ब ६८ करोड ५३ लाख ४० हजार थियो।
यो वर्षको सोही अवधिमा एक अर्ब १३ करोड ९९ लाख ५४ हजारले बढेर नौ अर्ब ७७ करोड ५२ लाख ९४ हजार पुगेको छ। प्रतिशतमा हेर्दा १३.२ प्रतिशतले बढेको देखिएको छ।
गत आवको प्रथम त्रैमासिक (२०७७ आश्विन मसान्त)को कुल आय १० अर्ब १० करोड ४४ लाख ७५ हजार रहेकोमा चालु आवको सोही अवधि(२०७८ आश्विन मसान्त) मा कुल आय ८४ करोड ७८ लाख ७१ हजार (अर्थात, ८.३९ प्रतिशत) ले वृद्धि भई १० अर्ब ९५ करोड २३ लाख ४६ हजार पुगेको टेलिकमले जानकारी दिएको छ।
गत आ. व. को प्रथम त्रैमासिक अवधि (२०७७ आश्विन मसान्त) मा खुद मुनाफा एक अर्ब ५१ करोड ७७ लाख ६९ हजार रहेकोमा चालु आवको सोही अवधि (२०७८ आश्विन मसान्त) मा ७४ करोड २१ लाख ३४ हजार (अर्थात, ४८.९० प्रतिशत) ले वृद्धि भई रु २ अर्ब २५ करोड ९९ लाख चार हजार रहेको छ।
त्यस्तै गत वर्षको प्रथम त्रैमासिक अवधि (२०७७ आश्विन मसान्त) मा इबिआइटिडिए तीन अर्ब ९७ करोड चार लाख ९१ हजार रहेको थियो। चालु आवको सोहि अवधिमा ८४ करोड ४९ लाख ५७ हजार (अर्थात, २१.२८ प्रतिशत)ले वृद्धि भई चार अर्ब ८१ करोड ५४ लाख ४८ हजार पुगेको छ।
गत वर्षको तुलनामा यो वर्ष प्रथम कम्पनीको आर्थिक अवस्था सकारात्मक हुनुमा फोजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँच विस्तार हुँदा समग्र सक्रिय ग्राहक आधार वृद्धि हुनु पनि प्रमुुख रहेको टेलिकमले बताएको छ। त्यसो हुँदा मोबाइल डाटा, भ्वाइस, एसएमएस सेवा आदिको उपयोगमा उल्लेख्य वृद्धि हुन गएको टेलिकमको भनाई छ।
यसैगरी टुजी र थ्रिजी सेवाको पहुँच नपुगेका स्थानहरुमा समेतसबै सेवाको पहुँच विस्तार गरिएकाले ग्राहक आधार वृद्धि हुन गएको टेलिकमको भनाई छ। कम्पनीको एपटिटिएच सेवाप्रति ग्राहकको आकर्षणमा वृद्धि भई सोमार्फत वितरण गरिएको इन्टरनेट सेवा, टेलिफोन सेवा तथा आइपिटिभी सेवाका ग्राहकहरु वृद्धि हुँदा फिक्स्ड नेटवर्क बाट हुने आयमा समेत सकारात्मक प्रभाव परेको उल्लेख गरिएको छ।
कोभिड १९ संक्रमणको असरका बाबजुत पनि यो वर्षको सुरुवातदेखि नै कम्पनीका आयोजना तथा सेवा वितरणमा सहजता आएका कारण पनि आर्थिक अवस्था सकारात्मक भएको टेलिकमले बताएको छ। कम्पनीका सेवाहरुको गुणस्तर अभिवृद्धि, मर्मत सम्भारमा सुधार जस्ता क्रियाकलापहरुबाट कम्पनीका सेवाहरुप्रति ग्राहकवर्ग आकर्षित भइ सेवा उपयोग वृद्धि भएको कम्पनीको दावी छ।
अनलाइन व्यवसाय, क्लास, सोसल नेटवर्किङ, इन्टरनेटमा आधारित मनोरञ्जन आदिमा भएको बृद्धिका कारण कम्पनीको भ्वाइस सेवा, डेटा, र एसएमएस सेवामा गत आर्थिक वर्षको तुलनामा यो आवको प्रथम त्रैमासिक अवधिमा सुधार आएको दावी गरिएको छ।
यो वर्ष भ्वाइसमा करिब ७ प्रतिशत, डेटामा १५ प्रतिशत र एसएमएस सेवामा ३३५ प्रतिशतले वृद्धि भएको टेलिकमले जानकारी दिएको छ।