पाँच महिनाअघि चिनियाँ स्मार्टफोन कम्पनी वानप्लसले नेपालमा 'नोर्ड सिइ' फोन सार्वजनिक गरेको थियो।
वानप्लसले गत वर्षदेखि मिड–रेन्ज उपकरणमा नोर्ड सिरिजका स्मार्टफोन ल्याएको थियो र यही सिरिजअन्तर्गत नोर्ड सिइ आएको हो।
आज हामीसँग यही वानप्लस नोर्ड सिइ स्मार्टफोन छ।
यो भिडिओमा हामी तपाईंलाई यसका फिचर र मूल्यबारे बताउने छौं।
सुरूमा वानप्लस नोर्ड सिइको बाहिरी भाग हेरौं।
यसको डिजाइन स्मुथ छ र स्लिम छ। पछाडिको भाग र फ्रेम प्लास्टिकको छ। यसको मोटाइ ७.९ एमएम छ र तौल भने १७० ग्राम छ। त्यसैले यो हातमा बोक्न वा पकेटमा राख्न हलुका छ।
यसको डिस्प्लेबारे कुरा गर्दा यो फोनमा ६.४३ इन्चको फ्लुइड एमोलेड डिस्प्ले छ, जसमा ९० हर्जको रिफ्रेस रेट छ। डिस्प्लेको माथितिर क्यामराका लागि बनाइएको सानो पन्च–होल देख्न सक्छौं। डिस्प्ले सुरक्षाका लागि भने यसमा हामीले गोरिला ग्लास प्रयोग गरेको पाएनौं।
अब वानप्लस नोर्ड सिइका क्यामराहरू हेरौं। यसको पछाडितिर तीनवटा क्यामरा छ, जसमा ६४ मेगापिक्सलको मुख्य क्यामरा, ८ मेगापिक्सलको अल्ट्रा–वाइड सुटर र २ मेगापिक्सलको मोनो लेन्स छ।
यसको मुख्य क्यामरामा ओम्नीभिजन सेन्सर प्रयोग गरिएको छ, जसले कम उज्यालोमा पनि गुणस्तरीय फोटो खिच्छ। क्यामराका अन्य फिचरमा पोट्रेड मोड, नाइटस्केप र प्रो मोड पनि छ।
यसको अगाडितिर भने १६ मेगापिक्सलको सेल्फी क्यामरा छ। यो सेल्फी क्यामराबाट हामीले इच्छाअनुसार आफ्नो छालाको टोन मिलाएर राम्रो फोटो खिच्न सक्छौं।
क्वालकम स्न्यापड्र्यागन ७५०–जी प्रोसेसर भएको यो फोन ६, ८ वा १२ जिबी र्याम र १२८ वा २५६ जिबी आन्तरिक स्टोरेजको विकल्पका साथ पाउन सकिन्छ। अहिले हामीसँग भएको मोडलमा भने १२ जिबी र्याम र २५६ जिबी आन्तरिक स्टोरेज छ।
वानप्लस नोर्ड सिइमा लिनियर स्पिकर मात्र छ। यसमा स्टेरियो स्पिकर प्रयोग भएको छैन। सुरक्षाका लागि भने यसमा इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर र फेस अनलक फिचर छ।
यसैगरी यो फोनमा भएको ४,५०० एमएएच ब्याट्रीले ३० वाटको फास्ट चार्जिङ समर्थन गर्छ। यसको चार्जिङ एडप्टरबाट फोन एक घण्टामा नै पूरा चार्ज हुने कम्पनीले जनाएको छ।
नेपाली बजारमा वानप्लस नोर्ड सिइ चार्कोल इन्क र ब्लु भोइड रङमा उपलब्ध छ। अहिले हामीसँग भएको फोन चार्कोल इन्क रङको हो।
यसको मूल्यबारे कुरा गर्दा, ८ जिबी र्याममा १२८ जिबी आन्तरिक स्टोरेज भएको वानप्लस नोर्ड सिइको मूल्य ४४ हजार ९ सय ९९ रूपैयाँ छ।
त्यसैगरी १२ जिबी र्याममा २५६ जिबी आन्तरिक स्टोरेज भएको मोडलको मूल्य भने ५१ हजार ४ सय ९९ रूपैयाँ तोकिएको छ।