रियलमीको आउँदो नयाँ फोन ‘जिटी–२ प्रो’को फिचरहरु अनलाइनमा लिक भएको छ।
ग्याजेट ३६०का अनुसार ‘रियलमी जिटी–२ प्रो’मा हुनसक्ने फिचर चर्चित टिप्स्टर ह्वाइल्याबले सार्वजनिक गरेका हुन्। यो नयाँ स्मार्टफोनमा क्वालकम स्न्यापड्रयागन ८९८ एसओसी प्रोसेसर हुने बताइएको छ। पहिले यसमा स्न्यापड्रयागन ८८८ एसओसी प्रोसेसर हुने भनिएको थियो।
यसैगरी ती टिप्स्टरले यो फोनका डिस्प्ले, क्यामरा, चार्जिङ र कनेक्टिभिटी फिचरबारे पनि जानकारी दिएका छन्। उनका अनुसार ‘रियलमी जिटी–२ प्रो’मा ६.५१ इन्चको फुल एचडी प्लस एमोलेड डिस्प्ले हुनेछ।
यो स्मार्टफोनमा अप्टिकल इमेज स्टेबिलाइजेसन भएको ५० मेगापिक्सलको प्राइमेरी रियर क्यामरा हुनेछ। साथै यसको अगाडितिर ३२ मेगापिक्सलको सेल्फी क्यामरा हुने ग्याजेट ३६०ले जनाएको छ।
‘रियलमी जिटी–२ प्रो’बारे सार्वजनिक भएको अर्को मुख्य फिचर भनेको यसमा १२५ वाटको फास्ट चार्जिङ हुने भनिएको छ। यसअघि यो फोनमा पाँच हजार एमएएचको ब्याट्री हुने र यसले जम्मा ६५ वाटको फास्ट चार्जिङ समर्थन गर्ने बताइएको थियो।
यसैगरी यो फोनको मूल्य पनि लिक भएको छ। टिप्स्टर डिजिटल च्याट स्टेसनका अनुसार ‘रियलमी जिटी–२ प्रो’को मूल्य करिब ४६ हजार पाँच सय भारु पर्न सक्छ। रियलमीले यसबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी नदिएको हुनाले यो अनुमान मात्र भएको ग्याजेट ३६०ले लेखेको छ।