पोको एफ–३ जिटी अहिले बजारमा चलिरहेको राम्रो गेमिङ स्मार्टफोनमध्ये पर्छ। यो फोन तीन महिनाअघि नेपाली बजारमा सार्वजनिक भएको थियो र यसको चर्चा अझै कम भएको छैन।
आज हामी तपाईंलाई यो गेमिङ स्मार्टफोनमा रहेका फिचरबारे बताउने छौं।
पोको एफ–३ जिटी विशेषगरी गेमर उपभोक्तालाई लक्षित गरेर बनाइएको स्मार्टफोन हो। यसको डिजाइन बजारमा पाइने सामान्य स्मार्टफोनभन्दा फरक छ।
आलुमिनियम फ्रेम भएको यो फोनको अगाडि र पछाडि भागमा क्रोनिङ गोरिला ग्लास–५ प्रयोग भएको छ। यसले फोन भुइँमा खस्दा पनि सजिलै टुट्ने फुट्ने हुँदैन।
यो फोनको दायाँतिर हामीले पावर बटनसहित अन्य दुइटा म्यागलेभ ट्रिगर बटन देख्न सक्छौं। यस्तो म्यागलेभ ट्रिगर बटन प्रायजसो गेमिङ फोनहरूमा प्रयोग भएको हुन्छ।
यी ट्रिगर बटनलाई एकैपटकमा स्लाइड गरेर अन गर्दा यसका छेउबाट दुइटा बटन माथि आउछ। यो दुई बटनलाई प्रयोग गरेर हामीले गेमहरू खेल्न सक्छौं। यसले गेमिङ अनुभव निकै सहज बनाउँछ।
यसको बायाँतिर भोल्युम अप–डाउन बटन छ। यसको तल र माथि दुवैतिर स्टेरियो स्पिकर छ। यो स्पिकरबाट आवाज निकै प्रष्ट र ठूलो सुनिन्छ। जुन गेम खेल्दा चाहिने अर्को महत्वपूर्ण फिचर हो।
यसको पछाडितिर भने तीनवटा क्यामरा र बोल्ट चिह्न भएको एलइडी फ्ल्यास छ।
अब यसको डिस्प्ले हेरौं।
पोको एफ–३ जिटीमा ६.६७ इन्चको फुल एचडी प्लस टर्बो एमोलेड डिस्प्ले छ। यसमा १२० हर्जको रिफ्रेस रेट र ४८० हर्जको टच स्याप्लिङ रेट छ। यो रिफ्रेस रेटले हाम्रो गेमिङ अनुभव स्मुथ र अझ सहज भयो।
यो फोनमा सनलाइट स्क्रिन सर्पोट पनि छ। यसको ब्राइट स्क्रिनले बाहिर चर्को घाममा फोनमा चलाउन हामीलाई केही अप्ठ्यारो भएन।
अब यसको पर्फर्मेन्सबारे कुरा गरौं।
यो फोनमा मिडियाटेक डाइमेन्सिटी १२०० एसओसी प्रोसेसर छ। साथै यसमा ८ जिबी र्याम र २५६ जिबी इन्टरनल स्टोरेज पाउन सकिन्छ। हामीले फोनमा दुई-चारवटा गेम डाउनलोड गरेर खेल्दा फोन ह्याङ हुने जस्ता केही समस्या पाएनौं। गेम धेरै समय खेल्दा पनि यो फोन त्यत्ति तातिएन।
यो फोनमा भएका क्यामरा पनि राम्रो छ। पोको एफ–३ जिटीमा तीनवटा क्यामरा छ, जसमा ६४ मेगापिक्सलको प्राइमरी लेन्स, ८ मेगापिक्सलको अल्ट्रा–वाइड लेन्स र २ मेगापिक्सलको म्याक्रो लेन्स छ।
क्यामराको अन्य फिचरहरूमा प्रो मोड, पोट्रेड मोड, नाइट मोड, सर्ट भिडिओ र भ्लग मोड, डुअल भिडिओ छ।
यसको अगाडितिर १६ मेगापिक्सलको सेल्फी क्यामरा देख्न सक्छौं। यो क्यामराले नर्मल फोटो ठिकठाक खिचेको पायौं, तर यसको अल्ट्रा–वाइड लेन्सले धेरै फराकिलो भ्यू खिच्ने रहेछ। यसको सेल्फी क्यामराबाट पनि फोटो प्रष्ट र उज्यालो आएको छ।
यसैगरी यो फोनमा ५०६५ एमएएचको ब्याट्री छ। हामीले फोन दिनभर चलाउँदा पनि यो ब्याट्री चाँडै सकिँदैन। यदी हामीले यो फोनमा दुई-तीन घण्टा लगातार गेम खेल्यौं भने पनि यसको ब्याट्री ह्वात्तै घट्दैन।
अब तपाईं फोन कम चलाउनु हुन्छ भने यसको ब्याट्री लगभग दुई दिनसम्म पनि पुग्छ।
केहीगरी ब्याट्री सक्किएमा हामीसँग पोकोको ६७ वाटको फास्ट चार्जिङ एडेप्टर हुनेछ। यो एडेप्टरबाट फोन एक घण्टामै पूरा चार्ज हुन्छ।
फोनका अन्य फिचरमा हामीले फिंगरप्रिन्ट सेन्सर र आइआर फेस अनलक पाउन सक्छौं।
यतिका फिचर भएको पोको एफ–३ जिटीको मूल्य चाहिँ कति पर्ला?
नेपाली बजारमा पोको एफ–३ जिटी गनमेटल सिल्भर र प्रेडेटर ब्ल्याक रङमा उपलब्ध छ। यो फोनको मूल्य ५६ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ।