सामसङको नयाँ फोन ‘ग्यालेक्सी ए–१३ ५–जी’ उत्पादनको तयारीमा छ। यो फोन कम्पनीको आउँदो नयाँ फोनमध्ये पर्ने घोषणा भइसकेको छ, तर यसमा कस्ता फिचर हुन्छन् भन्नेबारे केही जानकारी उपलब्ध भएको छ।
ग्याजेट ३६०का अनुसार हालै यो स्मार्टफोनमा हुनसक्ने केही फिचरबारे जानकारी इन्टरनेटमा लिक भएको छ। यसमा फोनका फिचर विस्तृत रुपमा लेखिएको भने छैन।
‘ग्यालेक्सी ए–१३ ५–जी’मा पछाडिको भाग प्लास्टिकले बनेको हुनेछ। यसमा ग्लोसी फिनिस हुनेछ। यो फोनमा चारवटा क्यामरा हुनेछ, जसमा मुख्य क्यामरा ५० मेगापिक्सलको हुने भनिएको छ।
वाटरड्रप–स्टाइल डिस्प्ले डिजाइन भनिएको यो स्मार्टफोनमा मिडियाटेक डाइमेन्सिटी ७०० एसओसी प्रोसेसर हुने ग्याजेट ३६०ले जनाएको छ।
‘ग्यालेक्सी ए–१३ ५–जी’को उत्पादन भारतमा सुरु भइसकेको छ। यो फोन सामसङको सबैभन्दा सस्तो ५–जी स्मार्टफोन हुने अनुमान रहेको ९१ मोबाइल्सले बताएको छ।
कम्पनीले यस फोनबारे आधिकारिक जानकारी दिन बाँकी नै छ। केही हल्लाहरुका अनुसार ‘ग्यालेक्सी ए–१३ ५–जी’ यो वर्षको अन्ततिर सार्वजनिक हुनेछ।