नयाँ स्मार्टफोन रियलमी जिटी २ प्रो भारतमा अर्को वर्ष सार्वजनिक हुने भएको छ।
ग्याजेट ३६०का अनुसार यो स्मार्टफोन सन् २०२२ को सुरुतिरै भारतीय बजारमा उपलब्ध हुनेछ। रियलमीले फोनबारे कुनै जानकारी दिएको छैन तर यसका फिचर र मूल्यका कुरा टिपस्टरले इन्टरनेटमा लिक गरिसकेका छन्।
टिपस्टर स्टिभ हेमरस्टोफरले अनलिक्समा रियलमी जिटी २ प्रोमा हुने फिचरहरु उल्लेख गरेका छन्। यो नयाँ स्मार्टफोन होल–पन्च डिस्प्ले डिजाइन सहित मेटल फ्रेममा आउनेछ। यसको क्यामराको डिजाइन पिक्सल ६ स्मार्टफोन जस्तै हुनेछ।
यो स्मार्टफोनमा ६.८ इन्चको डब्लुक्यू एचडीप्लस फ्ल्याट ओएलइडी डिस्प्ले र १२० हर्जको रिफ्रेस रेट हुनेछ। यसमा तीनवटा क्यामरा हुनेछ, जसमा ५० मेगापिक्सलको प्राइमेरी क्यामेरा, ५० मेगापिक्सलको अल्ट्रा–वाइड क्यामरा र ८ मेगापिक्सलको टेलिफोटो क्यामरा हुनेछ।
क्वालकम स्न्यापड्रयागन ८ जेन१ एसओसी प्रोसेसर हुनसक्ने भनिएको यो फोनमा १२ जिबी र्याम र ५१२ जिबी आन्तरिक स्टोरेज हुनेछ। यसैगरी यसमा १२५ वाटको फास्ट चार्जिङ हुने ग्याजेट ३६०ले जनाएको छ।
टिपस्टर स्टिभ हेमरस्टोफरका अनुसार रियलमी जिटी २ प्रोको मूल्य भने लगभग ६० हजार भारु हुनेछ।