पछिल्लो समय रियलमीको जिटी सिरिजका स्मार्टफोन बजारमा लोकप्रिय भइरहेको छ। यसका प्रिमियम लुक्स र पफर्मेन्सले गर्दा रियलमी जिटी लाइनअपका फोन उपभोक्ताको रोजाइमा परिरहेको छ।
विश्वको स्मार्टफोन बजारमा रियलमी सबैभन्दा छिटो अगाडि बढ्ने ब्रान्डमध्ये पर्छ। ठूला स्मार्टफोन कम्पनीलाई प्रतिस्पर्धा दिइरहेको यो कम्पनीले आफ्नो जिटी सिरिजअन्तर्गत फेरि नयाँ फोन ल्याएको छ– जिटी निओ–२।
रियलमी जिटी निओ–२ मुख्यगरी बढी फोन चलाउने प्रयोगकर्तालाई लक्षित गरेर बनाइएको छ। सुन्दर डिजाइन र नयाँ टेक्नोलोजी भएको यो स्मार्टफोनमा अन्य कस्ता फिचर छन् भन्नेबारे आज हामी यो भिडियोमा कुरा गर्ने छौं।
रियलमी जिटी निओ–२को विशेष आकर्षण यसको निओ रङ हो। यो फोन निओ ग्रिन, निओ ब्लु र निओ ब्ल्याक रङमा पाउन सकिन्छ। अहिले हाम्राे हातमा भएको फोन निओ ब्लु रङको हो। यसको टेक्स्चर पनि चम्किलो र स्मुथ छ।
यसमा ६.६२ इन्चको फुल एचडिप्लस रिजोलुसन भएको एमोलेड डिस्प्ले छ, जसमा १२० हर्जको रिफ्रेस रेट र ६०० हर्जको टच स्याप्लिङ रेट पाउन सक्छौं। यो टच स्याप्लिङ रेटले गेम खेल्दाको अनुभव अझ सहज बनाउछ।
यसमा १३०० निट्सको स्क्रिन ब्राइटनेस र गोरिला ग्लास ५–को सुरक्षा छ। साथै स्टेरियो स्पिकर पनि छ जुन गेमर प्रयोगकर्ताका लागि अर्को फाइदाको फिचर हो।
यो फोनको तौल २०० ग्राम छ। हातमा समाउँदा त्यत्ति भारी भएको महसुस भएन। फराकिलो डिस्प्ले र स्मुथ डिजाइन भएकोले यो फोन गेम खेल्न उपयुक्त छ।
गेमर प्रयोगकर्ताकै लागि भनेर यसमा ‘जिटी मोड’ नामको गेमिङ मोड छ। यो मोड अन गरेपछि फोनको टच स्याप्लिङ रेट र प्रोसेसरको स्पिड पनि बढ्छ।
प्रोसेसरको कुरा गर्दा रियलमी जिटी निओ–२मा क्वालकम स्न्यापड्र्यागन ८७० ५–जी चिपसेट छ। यो प्रोसेसरले फोनको पर्फर्मेन्स राम्रो बनाउने र प्रयोगकर्तालाई पनि सहज अनुभव दिने कम्पनीले जनाएको छ।
स्टोरेजका लागि भने यो फोनमा ८ जिबी र्याम र १२८ जिबी इन्टरनल स्टोरेज पाउन सकिन्छ।
यतिको प्रोसेसर र टच स्याप्लिङ रेट पाएपछि हामीले यो फोनमा मज्जाले गेम खेल्न सक्छौं। गेम लामो समयसम्म खेलिरहँदा फोन तात्तिने चिन्ता पनि छैन, किनकी जिटी निओ–२मा आठ लेयरको कुलिङ सिस्टम छ। कम्पनीका अनुसार यो फोनमा रियलमीका अरू स्मार्टफोनभन्दा सबभन्दा ठूलो कुलिङ एरिया छ।
यसमा ५००० एमएएचको ब्याट्री भएकाले फोन धेरैबेर चलाउन सकिन्छ। यो ब्याट्रीले ६५ वाटको सुपरडार्ट चार्जिङ समर्थन गर्छ, जसले फोन ३६ मिनेटमा नै फुल चार्ज गर्ने कम्पनीको दावी छ।
अब यसको क्यामरा हेरौं।
यो फोनको पछाडितिर हामीले तीनवटा क्यामरा देख्न सक्छौं, जसमा ६४ मेगापिक्सलको प्राइमरी क्यामरा, ८ मेगापिक्सलको अल्ट्रा–वाइड क्यामरा र २ मेगापिक्सलको म्याक्रो क्यामरा छ। यी क्यामराबाट हामीले ठिकठाक फोटोहरू खिचेका छौं । यसको अगाडितिर भने १६ मेगापिक्सलको सेल्फी क्यामरा छ।
अन्तमा यसको मूल्यबारे कुरा गरौं। रियलमी जिटी निओ–२ सस्तो मूल्यमा राम्रो गेमिङ पफर्मेन्स दिने फोनमा पर्छ।
यदि तपाईंको मुख्य ध्यान गेमिङ स्मार्टफोनमा छ र जिटी निओ–२ उपयुक्त लाग्यो भने यो फोन नेपाली बजारमा ५४ हजार एक सय ९९ रूपैयाँमा किन्न सक्नु हुन्छ।