रियलमी अर्को वर्षका लागि आफ्नो ९ सिरिजका स्मार्टफोन सार्वजनिक गर्ने तयारीमा छ।
जिएसएम एरेनाका अनुसार रियलमीको यो सिरिजमा चारवटा नयाँ स्मार्टफोन हुनेछ, जसमा रियलमी–९, रियलमी–९ प्रो, रियलमी–९ प्रो प्लस र रियलमी ९–आइ छ।
यीमध्ये रियलमी ९–आइ सबैभन्दा सस्तो मोडल हुनेछ। यो स्मार्टफोनको डिजाइन फोटो हालै अनलिक्सले अनलाइनमा पोस्ट गरेको छ, जसमा यसको फिचरहरु पनि उल्लेख गरिएको छ।
रियलमी ९–आइमा ६.५ इन्चको एलसिडी डिस्प्लेका साथै ९० हर्जको रिफ्रेस रेट हुनेछ। लिक भएको फोटोमा देखिएअनुसार यसको दायाँतिर साइड–माउन्टेड फिंगरप्रिन्ट सेन्सर छ।
यो स्मार्टफोनको पछाडितिर तीनवटा क्यामरा देखिएको छ। दोस्रो र तेस्रो क्यामरा कस्ता हुनेबारे कुनै जानकारी नआएपनि यसको मुख्य क्यामरा भने ५० मेगापिक्सलको हुने जिएसएम एरेनाले जनाएको छ।
यसैगरी यसमा स्न्यापड्रैगन ६८० प्रोसेसर र पाँच हजार एमएएचको ब्याट्री हुनेछ। रियलमी ९–आइ साथै यस सिरिजका अन्य स्मार्टफोनमा ५–जी नेटवर्कको समर्थन भने छैन।
रियलमी–९, रियलमी–९ प्रो, रियलमी–९ प्रो प्लस र रियलमी ९–आइ अर्को वर्षको पहिलो महिनातिर सार्वजनिक हुनसक्ने भनिएको छ। यी स्मार्टफोनमा रियलमी–९ प्रो र रियलमी–९ प्रो प्लस महँगो मोडल हुने रिर्पोटको भनाइ छ।