एप्पलले आइफोनको नयाँ संस्करण आइफोन–१४ अर्को वर्ष सार्वजनिक गर्नेछ। योसँगै अहिले यसका मोडलमा हुनसक्ने डिजाइन र फिचरबारे अनुमान इन्टरनेटमा छाइरहेको छ।
ग्याजेट ३६०का अनुसार हालै भएको एक लिकमा आइफोन–१४ अन्तर्गत आइफोन–१४ प्रो र आइफोन–१४ प्रो म्याक्स मोडलको डिस्प्ले डिजाइनबारे जानकारी बाहिर आएको छ। यी दुई मोडलमा आइफोन–१३ मा भएको जस्तै नोच नभइ होल–पन्च स्क्रिन डिजाइन हुनेछ।
कोरियन वेबसाइट द इलेकका अनुसार आइफोन–१४ प्रोमा ६.०६ इन्चको डिस्प्ले र आइफोन–१४ प्रो म्याक्समा ६.७ इन्चको डिस्प्ले हुनेछ। यसका डिजाइन आइफोन–१३ प्रो र आइफोन–१३ प्रो म्याक्सको फरक हुनेछ।
होल–पन्च डिस्प्लेमा फोनको स्क्रिनमाथितिर सानो गोलो कट–वाउट हुन्छ जसभित्र सेल्फी क्यामरा हुन्छ। यस्तो डिस्प्ले डिजाइन थुप्रै एन्ड्रोइड फोनहरुमा आइसकेको छ र एप्पलले पनि अर्को सार्वजनिक हुने आफ्नो प्रो मोडलमा यसैको सिको गर्न लागेको देखिन्छ।
यसैगरी कम्पनीले आफ्ना आइफोन–१४ यी दुई नयाँ मोडलमा ओएलइडी प्यानल र १२० हर्जको रिफ्रेस रेट राख्न सक्ने अनुमान छ।
आइफोन–१४ का मोडलसँगै एप्पलले तीन नयाँ एप्पल स्मार्टघडी पनि सार्वजनिक गर्ने ग्याजेट ३६०ले जनाएको छ।