फोनपे पेमेन्ट सर्विस लिमिटेडको नेटवर्कमा कुमारी बैंकको मोबाईल एपमार्फत् किस्ताबन्दीमा रकम तिर्न सकिने भएको छ।
एफवानसफ्ट, फोनपे र कुमारी बैकको सहकार्यमा कुमारी बैंकका ग्राहकलाई यस्तो सुविधा प्रदान गरिएको हो।
यस सुविधामा कुमारी बैंकमा खाता रहेका ग्राहकले क्यूआर मार्फत भुक्तानी गर्दा तत्काल नगद अथवा किस्ता बन्दीमा रकम भुक्तानी गर्न सक्नेछन्। यसका लागि ग्राहकले कुमारी बैंकको फोनलोन सुविधाका लागि योग्य भएको हुनुपर्नेछ।
कुमारी बैंकको मोबाईल एप्स् मार्फत क्यूआर भुक्तानी गर्दा किस्ताबन्दीमा भुक्तानी गर्ने अथवा तत्काल भुक्तानी गर्ने भन्ने अप्सन देखाउनेछ। उक्त अप्सनबाट ग्राहकले इएमआई मार्फत समेत भुक्तानी गर्न सक्नेछन्। मर्चेन्टलाई भने कुमारी बैंकले तत्कालै रकम भुक्तानी दिनेछ। ग्राहकले किस्ताबन्दीमा तिर्न सक्नेछन्।
एफ वान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा कुमारी बैंकले गत वर्षदेखि फोनलोन सेवा समेत सुरु गरेको थियो। अहिले फोनपेको क्यूआरमार्फत् उक्त सेवाको लोकप्रियतालाई ध्यानमा राखेर इएमआईसहितको भुक्तानी सेवा सुरु गरिएको हो।
फोनपे पेमेन्ट सर्विस नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त नेपालको भुक्तानी प्रणाली सञ्चालक हो। फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन्।
यस्तै फोनपेमा हालसम्म ५ लाख भन्दा बढी मर्चेन्ट रहेका छन्। एक करोड ३० लाखभन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्तातथा ४५ लाख बढी भुक्तानी सेवाप्रदायकका मोबाईल एप्स् मार्फत यसले सेवा प्रदान गर्दै आएको छ।