चिनियाँ कम्पनी भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो वाइ–३२ सार्वजनिक गरेको छ। कम्पनीले आफ्नो वाइ सिरिज अन्तर्गत यो स्मार्टफोन बजारमा ल्याएको हो।
ग्याजेट ३६०का अनुसार नयाँ भिभो वाइ–३२मा ६.५१ इन्चको एचडी प्लस डिस्प्ले छ। यो फोन अक्टाकोर स्न्यापड्रैगन ६८० एसओसीले बनेको छ। यसमा ८ जिबी र्याम छ, जुन बिल्ट–इन स्टोरेज उपयोग गरेर १२ जिबीसम्म बढाउन सकिन्छ। साथै यो फोनमा १२८ जिबीको आन्तरिक स्टोरेज छ।
यो स्मार्टफोनमा दुईवटा क्यामरा छ, जसमा १३ मेगापिक्सलको प्राइमेरी सेन्सर र २ मेगापिक्सलको सेकेन्डरी सेन्सर छ। सेल्फी र भिडियो च्याटका लागि यसको अगाडितिर ८ मेगापिक्सलको क्यामरा पाउन सकिन्छ।
यसैगरी यो फोनमा साइड–माउन्टेड फिंगरप्रिन्ट सेन्सर रहेको ग्याजेट ३६०ले जनाएको छ।
यसमा भएको पाँच हजार एमएएचको ब्याट्रीले १८ वाटको फास्ट चार्जिङ समर्थन गर्ने कम्पनीको भनाइ छ।
हाल चिनियाँ बजारमा मात्र उपलब्ध रहेको नयाँ भिभो वाइ–३२को मूल्य भारतमा करिब १६ हजार सात सय भारु पर्छ। यो फोन बिस्तारै अन्य देशमा सार्वजनिक हुने वा नहुनेबारे जानकारी आउन अझै बाँकी छ।