टिकटक विश्वकै सबैभन्दा लोकप्रिय अनलाइन प्लेटफर्म भएको छ। यो भिडियो मेकिङ एपले गुगललाई उछिन्दै प्रयोगकर्ताको बढ्दो रोजाइमा परेको हो।
आईटी सेक्यूरिटी कम्पनी क्लाउडफेयरका अनुसार भारइल भिडियो एप टिकटकले अमेरिकी सर्च इन्जिन गुगलभन्दा धेरै चर्चा पाउन थालेको हो।
सो कम्पनीले तयार पारेको सूचीअनुसार टिकटकले यस वर्षको फ्रेबुअरी, मार्च र जुन महिनामा गुगललाई शीर्ष स्थानबाट हटाएर अगस्ट महिनादेखि आफू पहिलो स्थानमा रहेको छ।
गत वर्ष भने गुगल पहिलो स्थानमा थियो र यसलाई पछ्याउदै टिकटक, अमेजन, एप्पल, फेसबुक, माइक्रोसफ्ट र नेटफ्लिक्ससहित धेरै अनलाइन साइटहरु शीर्ष दशमा थिए।
यी डाटा ट्रयाक गर्न क्लाउडफेयरले आफ्नो राडार प्रयोग गर्छ, जसले वेब ट्राफिकलाई निगरानी राख्छ।
टिकटकको लोकप्रियतमा बृद्धि हुनुको एउटा कारण कोभिड महामारी रहेको विश्वास गरिन्छ। लकडाउनमा संसारभरका मानिसहरु घरमै थुनिएको बेला मनोरञ्जनका लागि यो एप बढी प्रयोग गरेको बिबिसी बिजनेसले जानकारी गराएको छ।
सेन्सर टावरको डाटा कम्पनीका अनुसार यस वर्षको जुलाइसम्म टिकटक तीन अर्बभन्दा बढी पटक डाउनलोड भइसकेको छ। अहिले यसको विश्वभर एक अर्बभन्दा धेरै सक्रिय प्रयोगकर्ताहरु छन् र यसको संख्या बढ्दै गइरहेको छ।
टिकटक सन् २०१८ मा चिनियाँ सामाजिक सञ्जाल म्युजिकल्लीसँग मर्ज गरेर अन्तर्राष्ट्रिय रुपमा सुरु भएको हो। म्युजिकल्ली पनि विशेषगरी छोटा भिडियोमा गीतहरुको लिप–सिङ्किङ् गर्ने एप थियो।