कनेक्ट आइपिएस नेपाल क्लियरिङ हाउसले सञ्चालन गरेको विद्युतीय भुक्तानीको सरल माध्यम हो। यस प्रणालीमार्फत् बैंक तथा वित्तीय संस्थामा नगई घरबाटै आफ्नो बैंक खातामा रहेको रकम विभिन्न तरिकामा भुक्तानी गर्न सकिन्छ।
कनेक्ट आइपिएससँग जोडिएपछि एकभन्दा बढी बैंकखाता लिंक गरी अन्तरबैंक पैसा स्थानान्तरण गर्न सकिने कम्पनीका सिइओ निलेशमान सिंह प्रधान बताउँछन्।
‘कनेक्ट आइपिएसको वेबसाइट छ। राष्ट्र बैंकले तोकिदिएको सीमाभित्र रहेर कारोबार गरिरहेका छौं,’ सिइओ प्रधानले भने, ‘वेबसाइटबाट दस लाख र मोबाइल एप्सबाट प्रतिकारोबार एक लाखसम्म भुक्तानी गर्न सकिन्छ।’
क्लियरिङ हाउसले अहिले चेक क्लियरिङ, कनेक्ट आइपिएस, कर्पोरेट पे, नेसनल पेमेन्ट स्विच, एनएचसिएल-आइपिएस गरी ५ वटा सेवा प्रत्यक्ष सञ्चालन गरिरहेको छ।
यीमध्ये कनेक्ट आइपिएसमा बैंकहरूका सामान्य सदस्यहरूले अतिरिक्त सेवा लिन सक्ने प्रणाली हो।
‘मोबाइल इन्टरनेटको माध्यमबाट सरल भुक्तानीमा पहुँच पुर्याउनु कम्पनीको उद्देश्य हो,’ कम्पनीका सिइओ प्रधानले भने, ‘सेवाग्राहीले जुनसुकै ठाउँमा बसेर सोझै खाताबाट कारोबार गर्न सक्नेछन्। तेश्रो माध्यम अपनाउनु पर्दैन।’
सरकारले खाताबाट गरिने कामहरू डिजिटलाइज गर्ने भनिरहेको बेलामा कम्पनीले सहयोगी हुनेगरी काम गरिरहेको उनको भनाइ छ। यसअनुसार पछिल्लो समय नेपाल सरकारलाई भुक्तानी, नागरिक लगानीकोषमा भुक्तानी, सेयर कारोबार, सञ्चय कोषमा रकम जम्मा गर्न समेत सम्भव भएको छ।
कसरी सेवा सुरू गर्ने?
कनेक्ट आइपिएसमार्फत् कारोबार सुरू गर्न सबभन्दा पहिले प्रयोगकर्ताले एप डाउनलोड गर्नुपर्ने हुन्छ। दस लाखभन्दा बढी कारोबार रकम भए कनेक्ट आइपिएसको वेबसाइटमार्फत् जानुपर्ने हुन्छ।
एप कसरी डाउनलोड गर्ने?
यदि एन्ड्रोइड फोन छ भने गुगल प्लेस्टोरमा गएर connect IPS टाइप गर्नुहोस्। प्लेस्टोरमा यसको लोगोसहित नेपाल क्लियरिङ हाउसको कनेक्ट आइपिएस एप देखापर्छ। त्यसलाई आफ्नो मोबाइलमा इन्स्टल गर्नुपर्छ।
एप्पल फोन भए एपस्टोरमा गएर माथिकै तरिका अपनाएर एप डाउनलोड गर्न सकिन्छ।
एपमा आफ्नो साधारण विवरण भरेर लग-इन आइडी र पासवर्ड बनाउन सकिन्छ। त्यसपछि प्रयोगकर्ताले सञ्चालन गरिरहेको कुनै पनि दुईभन्दा बढी बैंकलाई एपबाट नै भेरिफाइ गर्न सक्नेछन्।
वेबसाइटमा कसरी दर्ता हुने?
दस लाख भन्दा बढीको कारोबारका लागि कनेक्ट आइपिएसको वेबसाइटमा जानुपर्छ। वेबसाइटको माथिल्लो दायाँ कुनामा साइन इन र साइन अप भन्ने विकल्प हुन्छ। साइन इन कनेक्ट आइपिएसमा पहिल्यै जोडिएकाहरूका लागि हो जहाँ लग-इन आइडी र पासवर्ड हाल्नुपर्छ।
नयाँ प्रयोगकर्ताले साइन-अपमा क्लिक गरेपछि एउटा फारम खुल्छ। त्यसमा नाम, इमेल, ठेगाना, मोबाइल नम्बर लगायत विवरण हुन्छन् जुन भर्नुपर्छ। त्यो भरिसकेपछि तल लग-इन गर्ने नाम र पासवर्ड हाल्नुपर्छ।
यति गरेपछि पेज खुल्छ। त्यसमा आफ्नो बैंकको विवरण भर्ने ठाउँ हुन्छ। यी सबै विवरण भरिसकेपछि बैंकले सकेसम्म छिटो स्वीकृत गर्छ। भेरिफाइ गर्न बैंक नै पुगिराख्नु पर्दैन। अधिकांश बैंकको घरैमा बसेर अनलाइन भेरिफाइ गर्न सकिन्छ।
त्यसपछि कारोबार सुरू गर्न सकिन्छ।
कुन कुन बैंक र वित्तीय संस्था छन्?
वाणिज्य बैंकहरूः
- कृषि विकास
- बैंक अफ काठमाण्डु
- सेन्चुरी
- सिटिजन्स
- सिभिल
- एभरेस्ट
- ग्लोबल आइएमइ
- हिमालयन
- कुमारी
- लक्ष्मी
- माछापुच्छ्रे
- मेघा
- नबिल
- एनसिसी
- एनआइसी एसिया
- नेपाल इन्भेस्टमेन्ट
- एनएमबी
- प्रभु
- प्राइम कमर्सियल
- सानिमा
- सिद्धार्थ
- सनराइज
- राष्ट्रिय वाणिज्य
- नेपाल
- स्टान्डर्ड चार्टर्ड
विकास बैंकहरूः
- एक्सेल
- गरिमा
- ग्रीन
- ज्योति
- महालक्ष्मी
- मितेरी
- मुक्तिनाथ
- लुम्बिनी
- कामना सेवा
- सप्तकोशी
- सांग्रिला
- शाइन रेसुंगा
वित्तीय संस्थाहरूः
- गुह्वेश्वरी मर्चेन्ट
- गुर्खाज
- आइसिएफसी
- मन्जुश्री
- प्रोग्रेसिभ
- रिलायन्स
- युनाइटेड
- बेस्ट
- गुडविल
- सेन्ट्रल
- समृद्धि
- नेपाल फाइनान्स
- पोखरा फाइनान्स
अन्य डिजिटल भुक्तानीका माध्यमभन्दा कसरी फरक छ?
कनेक्ट आइपिएस प्रणाली अन्य डिजिटल भुक्तानीका माध्यमभन्दा यस अर्थमा फरक छ कि, यसमा सबै बैंक तथा वित्तीय संस्था लिंक भएका छन्।
त्यस्तै आइपिएस माध्यमको प्रयोग गर्दा छुट्टै डिजिटल वालेटमा पैसा भर्नु पर्दैन। सोझै प्रयोगकर्ताको खाताबाट काटिन्छ। खातामा पैसा हुँदासम्म समस्या आउँदैन। साथै कतिपय डिजिटल भुक्तानी माध्यममा वित्तीय संस्थाहरूको लिमिट कनेक्सन हुन सक्छ। यसमा कनेक्सन समस्या नभएको सिइओ प्रधानले बताए।
‘कनेक्ट आइपिएसमा ८ वटा डिजिटल वालेट जोडिएका छन्। यी सबैबाट सबैमा सरल कारोबार गर्न सकिन्छ,’ प्रधानले भने।
यति मात्र होइन, कोही ग्राहकको वालेटमा पैसा छ त्यसलाई बैंकमा सारेर नगद निकाल्नुपर्यो भने पनि सम्भव भएको प्रधान बताउँछन्।
'वालेटहरूमा रकम लोड-अनलोड गर्न आइपिएसले सहयोग गर्छ। यो सुविधा कन्टेक्ट आइपिएसमा मात्रै उपलब्ध छ,' उनले भने, 'पठाएको पैसा तुरुन्तै पाउन सकिन्छ। कुनै पनि काम गर्न बैंकमा लाइन बस्नु, भौचर भर्नु आवश्यक छैन।'
यसमा सानादेखि ठूलासम्मका कारोबार गर्न सकिन्छ। विशेषगरी ठूला कारोबारमा यो प्रणाली उपयोगी सावित भइरहेको कम्पनीको भनाइ छ।