ब्ल्याकबेरीले मंगलबारदेखि आफ्नो क्लासिक फोनहरू बन्द गर्दैछ। क्यानेडियन सफ्टवेयर कम्पनी ब्ल्याकबेरीले जनवरी ४ देखि अर्थात् यही मंगलबारदेखि ब्ल्याकबेरी १०, ७.१ ओएस र योभन्दा अघिल्ला संस्करणमा चल्ने फोनहरू सबै बन्द गर्ने घोषणा गरेको हो।
योसँगै फोनहरूमा फोनकल, मेसेज, इन्टरनेट, डेटालगायत सम्पूर्ण सेवा बन्द हुनेछ। सिएनएनका अनुसार फोनमा हुने इमर्जेन्सी सेवाहरू पनि बन्द हुनेछ। यो नियम ब्ल्याकबेरीको पुराना संस्करणका फोनहरूमा लागू हुने हो।
एन्ड्रोइड अपरेटिङ सिस्टम भएका ब्ल्याकबेरीको फोनहरू भने प्रयोगकर्ताले अझै चलाउन सक्ने बताइएको छ।
पछिल्लो समय एप्पल र एन्ड्रोइडका विभिन्न मोडलको फोनहरूको प्रयोग बढ्दो छ। यस्तोमा ब्ल्याकबेरीको बजार भने सुस्ताउँदै गयो। कम्पनीले पछिल्लो पटक सन् २०१३ मा नयाँ संस्करण सार्वजनिक गरेको थियो। तर त्यसले पनि बजार लिन सकेन। सन् २००० देखि नै ब्ल्याकबेरीको बजार खस्किएको हो भन्दा फरक पर्दैन।
कम्पनीले सन् २०२० को सेप्टेम्बरदेखि ब्ल्याकबेरी लिमिटेड नामबाट संसारका विभिन्न राष्ट्रहरूमा सेक्युरिटी सफ्टवेयर र इन्टरप्राइजहरूलाई सेवा पुर्याउने बताएको थियो। तर योजनाअनुरुप काम हुन सकेन। त्यसैले पनि अब कम्पनीद्वारा उत्पादित पुराना संस्करणको फोनहरू सदाको लागि बन्द हुँदैछ।