वानप्लसले आफ्नो नयाँ फोन वानप्लस-१० प्रोका केही विशेषताहरू सार्वजनिक गरेको छ। कम्पनीले भारतमा यो फोन सन् २०२२ को जनवरीमा सार्वजनिक गर्ने घोषणा गरेको थियो।
तर हालसम्म भारतीय बजारमा वानप्लस-१० प्रोको सार्वजनिक मिती तय भएको छैन। चीनमा भने यो फोन जनवरी ११ तारिखमा सार्वजनिक हुने स्क्रिनर्यान्टले लेखेको छ।
सार्वजनिक केही विशेषताअनुसार वानप्लस-१० प्रोको पछाडि ह्यासलब्लाड क्यामेरा हुने बताइएको छ, जुन अघिल्लो वानप्लस ९ प्रोको श्रृंखलामा पनि देखिएको थियो। तर क्यामेरा हुने ठाउँ र डिजाइन भने अघिल्ला फोनहरूको तुलनामा केही फरक छ।
हालसम्म यो हरियो र कालो रंग विकल्पमा उपलब्ध हुने देखिएको छ भने यसमा म्याट फिनिशङ हुनेछ।
वानप्लस-१० प्रोमा नयाँ स्न्यापड्रागन ९ जी १ प्रोसेसर प्रयोग हुनेछ, जुन कम्पनीले केही समय अघि नै घोषणा गरेको थियो। कम्पनीले फोनबारे अन्य विशेषताहरू अझै खुलाएको छैन। तर यसमा तल उल्लेख विशेषताहरू हुने अनुमान लगाइएको छः
- फोनमा एमाेलेइड डिस्प्ले नभइ एलटिपिओ २.० डिस्प्ले हुने सम्भावना बढी छ। जसले गर्दा फोन चलाउँदा सहज हुनेछ। प्रयोगकर्ताले सहज स्क्रोलिङ र भिजुअल अनुभव लिन पाउनेछन्।
- फोनमा १ हर्जदेखि १२० हर्जको रिफ्रेस रेट दर हुने बताइएको छ।
- त्यस्तै फोनमा ६.७ इन्चको डिस्प्ले हुने अनुमान लगाइएको छ भने यसमा क्युएचडी प्लस रिसोलुसन हुनेछ।
- वानप्लस-१० प्रो ८ जिबीदेखि १२ जिबी र्याम विकल्पमा उपलब्ध हुनेछ। यसको स्टोरेज १२८ जिबीदेखि २५६ जिबी अथवा योभन्दा बढी पनि हुने अनुमान लगाइएको छ।
- वानप्लस-१० प्रोको अगाडिपट्टी ४८ मेगापिक्सल अथवा ५० मेगापिक्सलको सेल्फी क्यामरा हुने बताइएको छ। पछाडि भने तीन वटा क्यामरा हुनेछ।
- स्रोतहरूका अनुसार यो मोबाइलमा फास्ट चार्जिङ (छिटो चार्ज हुने) सुविधा सहित पाँच हजार एमएएच ब्याट्री क्षमता हुनेछ।
यसबाहेक कम्पनीले भारतीय बजारमा वानप्लस-९आरटी फोन जनवरी १४ मा सार्वजनिक गर्दैछ। योसँगै वानप्लस बड्स जेड- २ पनि सार्वजनिक हुनेछ। यी उपकरणहरू चीनमा भने केही समय अघि नै सार्वजनिक भएका हुन्।