ताइवानी कम्पनी एससले छिट्टै बजारमा फोल्डएबल ल्यापटप सार्वजनिक गर्दैछ। कम्पनीले सन् २०२२ मा नयाँ ल्यापटप सार्वजनिक गर्ने अमेरिकी प्रविधि वेबसाइट द भर्जले जनाएको छ।
हरेक वर्ष विभिन्न ग्याजेट निर्माण कम्पनीहरू नयाँ उपकरण सार्वजनिक गर्ने होडबाजीमा हुन्छन्। बजारमा थुप्रै ब्रान्डका ल्यापटप र मोबाइल फोनहरू देखिरहेकै छौं। तीमध्ये एसस ब्रान्डले पनि नेपालमा राम्रो बजार पाएको छ।
एसस ताइवानी बहुराष्ट्रिय कम्प्युटर र फोन हार्डवेयर एवम् इलेक्ट्रोनिक्स निर्माण कम्पनी हो जसले अन्तर्राष्ट्रिय बजारमा आफ्नो सकारात्मक छवि विस्तार गरेको छ।
यस्तैमा कम्पनीले सन् २०२२ मा जेनबुक १७ फोल्ड ओएलइडी ल्यापटप सार्वजनिक गर्ने भएको हो। ल्यापटपमा १७ इन्चको फोल्ड गर्न मिल्ने ओएलइडी स्क्रिन हुनेछ।
फोल्डएबल ल्यापटपको विशेषता भनेको यसमा ठूलो स्क्रिन हुनुको साथै सजिलै झोलामा बोक्न सकिन्छ।
जति नै पातलो ल्यापटप भएपनि १७ इन्चको ल्यापटप भनेपछि जो-कोहीलाई यो बोक्न असहज हुन्छ भन्ने लाग्छ। तर एससको यो नयाँ ल्यापटप बोक्दा त्यस्तो समस्या हुँदैन। यो ल्यापटपलाई ट्याबलेट जसरी राख्न, किकस्ट्यान्ड राखेर अथवा ९० डिग्री कोणमा छेउमा फोल्ड गर्न सकिन्छ।
एससको जेनबुकमा १२औं जेन इन्टेल कोर आई७ यू- संस्करणको प्रोसेसर हुनेछ। त्यस्तै, यसमा प्रयोगकर्ताहरूले १६ जिबीसम्मको र्याम र १ टिबीसम्मको स्टोरेज क्षमता पाउन सक्नेछन्।
ल्यापटपमा एससको 'स्क्रिनएक्सपर्ट २' सफ्टवेयर पनि समावेश गरिएको हुनेछ। जसले गर्दा स्क्रिनलाई दुई भागमा विभाजन गर्न पनि सहज हुन्छ। जेनबुक १७ मा ७५ वाटको ब्याट्री क्षमता हुनेछ।
द भर्जका अनुसार एससको यो नयाँ जेनबुक १७ सन् २०२२ को दोस्रो त्रैमासिकसम्ममा सार्वजनिक हुनेछ। कम्पनीले यसको मूल्यबारे भने हालसम्म केही जानकारी खुलाएको छैन।