नोकियाले सन् २०२२ मा पाँचवटा नयाँ मोडलको फोन सार्वजनिक गर्दैछ। कम्पनीले अमेरिकामा भएको सिइएस २०२२ (कन्ज्युमर इलेक्ट्रोनिक्स सो)मा उक्त घोषणा गरेको हो।
बजारमा यतिबेला एप्पल र विभिन्न ब्रान्डको एनड्रोइड फोनहरूको प्रतिस्पर्धा बढ्दो छ। यस्तैमा नोकियाले पनि आफ्नो बजेट मोडल अर्थात् कम मूल्यका फोनहरू सार्वजनिक गर्ने घोषणा गरेको अमेरिकी वेबसाइट सिनेटले जनाएको छ। उक्त वेबसाइटका अनुसार यी मोडलहरू २५० अमेरिकी डलर अर्थात् ३० हजार रुपैयाँभन्दा कम मूल्यमा उपलब्ध हुनेछ।
कम्पनीले छिट्टै नोकिया जी-४०० सार्वजनिक गर्ने बताएको छ, जसको मूल्य २३९ अमेरिकी डलर अर्थात् २८ हजार रुपैयाँ हुने अनुमान छ। यो फोनले ५-जी सपोर्ट गर्नेछ। त्यस्तै, सार्वजनिक हुने फोनमध्ये ४-जी सपोर्ट गर्ने जी-१०० पर्ने बताएको छ। यसको मूल्य १४९ अमेरिकी डलर पर्ने अनुमान छ।
त्यस्तै, सिनेटका अनुसार कम्पनीले नोकिया सी-२००, सी-१०० र रेट्रो नोकिया २७६० फ्लिप सार्वजनिक गर्नेछ। यसमध्ये सबैभन्दा सस्तो मोडल सी-१०० हुनेछ जसको मूल्य जम्मा ९९ अमेरिकी डलर हुने अनुमान छ।
नोकियाको २७६० फ्लिप भने पुरानो फोनको डिजाइनमा हुनेछ जसको मूल्य अमेरिकामा ७९ डलर अर्थात् झन्डै १० हजार रुपैयाँ हुने बताइएको छ। २७६० फ्लिप र नोकिया सी-१०० अबको दुई महिनाभित्र सार्वजनिक हुने अनुमान छ।
'अनुसन्धानअनुसार ग्राहकहरू यतिबेला कम बजेटमा ठूलो डिस्प्ले, लामो ब्याट्री क्षमता भएको र उच्च गुणस्तरको क्यामेरा भएको फोनको प्रतिक्षामा छन्। त्यसैले हामी यिनै विषयलाई मध्यनजर गर्दै उत्पादन काम अघि बढाउँदै छौै,' कम्पनीका प्रमुख कार्यकारी अधिकृत फ्लोरिन सेइचले भनेका छन्।
कम्पनीले नयाँ फोनहरू सुरूमा अमेरिकी बजारमा सार्वजनिक गर्नेछ भने लगत्तै अन्य देशहरूमा पनि नयाँ मोडलका फोन उपलब्ध गराउने बताएको छ।