ट्विटरले नयाँ फिचर सार्वजनिक गर्ने भएको छ। अेमेरिकी प्रविधि वेबसाइट द भर्जका अनुसार ट्विटर यतिबेला 'ट्विटर फ्लक' भन्ने फिचर सार्वजनिक गर्ने तयारीमा छ। यो फिचरको मद्दतमा कुनै पनि प्रयोगकर्ताले आफ्नो ट्विट अन्य सिमित प्रयोगकर्ताहरूले मात्रै देख्न मिल्ने बनाउन मिल्छ।
झट्ट सुन्दा यो इन्स्टाग्रामको 'क्लोज फ्रेन्ड्स' फिचर जस्तै सुनिन्छ। तर कम्पनीका अनुसार इन्स्टाग्रामको क्लोज फ्रेन्ड्सको तुलनामा ट्विटरको क्लोज फ्लक केही भिन्न छ।
ट्विटरले गत जुलाईमा मात्रै यही फिचरबारे केही झलक र विशेषता सार्वजनिक गरेको थियो। त्यसबेला कम्पनीले 'ट्रस्टेड फ्रेन्ड्स' अर्थात् विश्वसनीय साथीहरू भन्ने विशेषता सार्वजनिक गरेको थियो। यसपछि देखि भने कम्पनीले क्लोज फ्लक फिचरबारे परिक्षण गर्दैछ। फ्लकको अर्थ सामान्य भाषामा ग्रुप अथवा समूह भनेर बुझ्न सकिन्छ।
द भर्जका अनुसार एक मोबाइल डेभलपर अल्सेनाड्रो पालुजीले ट्विटरको यो नयाँ फिचरबारे ट्र्याक गर्दैछ। उनको अध्ययनअनुसार ट्विटरले तपाईंको ट्विट अन्य १५० जना प्रयोगकर्तामाझ मात्रै सिमित राख्न सकिने फिचर सार्वजनिक गर्न लागेको हो। तपाईंले जसलाई ट्विट देख्न मिल्ने बनाउनुहुन्छ, उनैले मात्रै ट्विट देख्न, लाइक गर्न र कमेन्ट गर्न मिल्छ।
तपाईंले सुरूमा छनौट गर्नुभएको ट्विटर प्रयोगकर्तामध्ये कसैलाई क्लोज फ्लकबाट हटाउन चाहे त्यो पनि सम्भवन हुने द भर्समा उल्लेख गरिएको छ। तपाईंले कुनै प्रयोगकर्तालाई आफ्नो क्लोज फ्लकबाट हटाउनु भयो भने, त्यसको नोटिफिकेसन जाँदैन। अथवा अन्य प्रयोगकर्ताले चाल पनि पाउँदैन।
यदी तपाईं कसैको ट्विटरको फ्लकमा हुनुहुन्छ भने तपाईंले ती प्रयोगकर्ताको ट्विट देख्दा भने सन्देश पाउँनुहुन्छ। यसले तपाईंको क्लोज फ्लकको सूची र अन्य फलोअर्सबीचको भिन्नता सजिलै छुट्याउँछ।
ट्विटरले गत सेप्टेम्बरमा 'इन्भाइट-ओन्ली' भन्ने फिचर सार्वजनिक गरेको थियो। जुन फिचरको मद्दतमा तपाईंले आफ्नो जस्तै रुची भएका प्रयोगकर्तासँग सम्पर्क अथवा ट्विट सेयर गर्न सक्नुहुन्थ्यो। अब भने ट्विटरको क्लोज फ्लक फिचरको साथ तपाईंले आफूलाई मनपर्ने प्रयोगकर्ताबीच मात्रै आफ्नो ट्विट सिमित राख्न सक्नुहुन्छ।
ट्विटरले यो फिचर कहिलेदेखि आम प्रयोगकर्तामाझ सार्वजनिक गर्दैछ भन्नेबारे कम्पनीले बताएको छैन। तर ट्विटरका प्रवक्ता टाटियाना ब्रिटले द भर्सलाई भने अनुसार ट्विटर आफ्नो प्रयोगकर्ताहरूको लागि सधै नयाँ र पृथक फिचरहरू सार्वजनिक गर्ने कार्यमा सक्रिय छ।