ई-सेवा मनी ट्रान्सफर र युनिमोनीबीच रेमिट्यान्स सम्झौता भएको छ। यो सम्झौतासँगै कतारमा रहेका नेपालीहरूले युनिमोनीको कतारमा रहेका नौ ओटा शाखाहरूमा गई ई-सेवा मनी ट्रान्सफरको माध्यमबाट नेपालमा पैसा पठाउन सक्नेछन्।
उक्त सम्झौतासँगै युनिमोनीका शाखाहरूबाट पैसा सिधै नेपालमा रहेको ६० भन्दा धेरै बैंकका खाता तथा ई-सेवा वालेटमा तत्काल रकम पठाउन सकिने व्यवस्था मिलाइएको हो। त्यस्तै, युनिमोनी हुँदै कतारबाट पठाएको नगद रेमिट्यान्स नेपालभरी रहेका ई-सेवा मनी ट्रान्सफरका दश हजारभन्दा बढी रकम भुक्तानी केन्द्रबाट तुरुन्तै प्राप्त गर्न सकिनेछ।
साथै, पठाएको नगद रेमिट्यान्स भुक्तानी केन्द्रमा नगई सोझै ई-सेवा वालेटमा प्राप्त गरि ७७ रुपैयाँ बोनस समेत प्राप्त गर्न सकिनेछ।
यस सम्झौताबारे ई-सेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले भन्नुभयो, ‘ई-सेवा मनी ट्रान्सफर र युनिमोनीबीचको यस सम्झौताले कतारबाट नेपाल रेमिट्यान्स भुक्तानी सेवालाई थप सहजता प्रदान गरेको छ। यसले कतारमा रहेका नेपाली कामदारलाई नेपालमा पैसा पठाउन एउटा प्रभावकारी माध्यम थपिएको छ।'
युनिमोनी कतार, कतारको सेन्ट्रल बैंकबाट इजाजत प्राप्त संस्था हो, जसले आफ्ना ग्राहकहरूका वित्तीय आवश्यकता मध्यनजर गर्दै सहज रुपमा पैसा र विदेशी मुद्रा एक देशबाट अर्को देश आवागमन गराउदै आएको छ। त्यसका लागि यसले आफ्ना सेवा संसारका विभिन्न मुलुकमा रिटेल स्टोरदेखि डिजिटल माध्यमसम्म विस्तार गरिसकेको छ।