फोनपे र खल्ती वालेटबीच सहकार्यको सहमति भएको छ।
सोमबार एक कार्यक्रमकाबीच फोनपेका तर्फबाट नायव प्रमुख कार्यकारी दिवस सापकोटा र खल्तीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले उक्त सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौतासँगै अब खल्ती फोनपे नेटवर्कमा आवद्ध भएको छ। खल्ती प्रयोगकर्ताले फोनपेको क्युआरमार्फत सहजै रकम भुक्तानी गर्न सक्नेछन्। यो सहकार्य नेपालको फिनटेक उद्योग र डिजिटल कारोबारमा ठुलो उपलब्धी हुने अपेक्षा गरिएको छ।
सम्झौता कार्यक्रममा फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले दुवै कम्पनीको लडाई नगद कारोबारसँग रहेको बताए। ‘क्यासलेस अर्थतन्त्र निर्माण गर्ने हाम्रो समान उद्देश्यमा हाम्रो सहकार्यले थप मद्धत पुग्नेछ,’ उनले भने।
त्यस्तै, खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले फोनपेसँगको सहकार्यबाट खल्ती-फोनपेको मात्र नभई २० लाख बढी खल्तीका प्रत्यक्ष प्रयोगकर्ता र लाखौं अप्रत्यक्ष जनता लाभान्वित हुने बताए।
‘यो सहकार्यले इकोसिस्टमलाई अझ विश्वसनीय र सशक्त बनाई अघि बढाउन मद्दत गर्नेछ,’ उनले भने, ‘हामी दुवैको ठूलो उद्देश्य नेपाललाई डिजिटल बनाउने हो जसको लागि हामीसँगै अघि बढ्दैछौं।’
डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्ष अगाडी स्थापना भएको फोनपेमा हाल ५ लाख ५० हजार भन्दा बढि मर्चेन्ट रहेका छन्।
बैंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाइल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन्। दुई वर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन्। फोनपे विश्व प्रख्यात डेटा सुरक्षा मापदण्ड पेमेन्ट कार्ड इन्डस्ट्री डेटा सुरक्षा मापदण्ड प्राप्त संस्था हो।
सन् २०१७ मा आफ्नो सेवा सुरू गरेको खल्ती, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बनाउन सफल ब्रान्ड हो। २० लाख भन्दा बढी प्रत्यक्ष र लाखौं अप्रत्यक्ष प्रयोगकर्ताहरूको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी गर्दै आइरहेको छ।
मोबाइल र टिभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बिमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी ६० हजारभन्दा धेरै सेवाहरूको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिदैँ आएको खल्तीका प्रमुख कार्यकारी अधिकृत खड्का बताउँछन्।
यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरी प्रयोगकर्ताहरूलाई समयको साथै पैसाको बचतमा पनि खल्तीले योगदान दिदैँ आएको छ।