हाम्रो मोबाइल, ल्यापटप अथवा अन्य उपकरणहरूमा भएका फोटा र भिडिओहरू गुगल फोटोमा सेभ गर्न मिल्छ। यसो गर्दा उपकरणबाट फोटा र भिडिओ डिलिट भएपनि गुगलमा रहिरहन्छ। र, चाहेको समय हामीले हेर्न सक्छौं।
यसर्थ, 'गुगल फोटो' फोटा र भिडिओ सेभ गर्न प्रयोग गरिने लोकप्रिय प्लेटफर्म हो। यो एप भर्सनमा पनि उपलब्ध छ।
'गुगल फोटो' प्रयोग गर्न तपाईंसँग गुगल खाता हुन भने जरुरी छ। हामीले मोबाइलबाट खिचेको, स्क्रिनसट लिएको, सामाजिक सञ्जालहरूबाट सेभ गरेको फोटा र भिडिओहरू अटोमेटिक गुगल फोटोमा सेभ गर्न मिल्ने बनाउन पनि सक्छौं। जसको लागि भने गुगल फोटोको सेटिङमा गएर 'अटोमेटिक ब्याकअप' भन्ने विकल्प अन राख्नुपर्छ।
गुगल फोटोमा आफूलाई एकदमै मनपर्ने अथवा कुनै गोप्य कागजातहरूलाई सुरक्षित तरिकाले राख्न सकिन्छ। सुरक्षाको लागि तपाईंले एउटा फोल्डर बनाउनुपर्ने हुन्छ र त्यसमा पासवर्ड राख्नुपर्छ। पासवर्डबिना ती फोटा/भिडिओहरू हेर्न मिल्दैन।
गुगलका अनुसार प्रयोगकर्ताहरूको गोपनीयतालाई ध्यानमा राख्दै यो विशेषता समावेश गरिको हो। किनभने तपाईंको गुगल अन भएका उपकरणहरूबाट तपाईंको गुगल फोटोमा भएका सबै आइटमहरू (फोटा,भिडिओ, बुमर्याङ्स, फिल्मलगायत) हेर्न सकिन्छ।
गुगल फोटोमा यसरी गोप्य राख्नुहोस् आफ्ना फोटा र भिडिओः
- सुरूमा गुगल फोटो खोल्ने।
- मोबाइलबाट चलाउँदै हुनुहुन्छ भने सबैभन्दा तलपट्टि 'फोटो', 'सर्च', 'सेयरिङ', 'लाइब्रेरी' भन्ने चार वटा विकल्प देख्नुहुन्छ। त्यसमध्ये लाइब्रेरी भन्ने विकल्प चयन गर्ने।
- लाइब्रेरी भित्र तपाईंले सबैभन्दा माथि 'फेब्रेट्स', 'युटिलिटिस्', 'आर्काइभ' र 'बिन' भन्ने विकल्प देख्नुहुन्छ। त्यसमध्ये, युटिलिटिस् भन्ने विकल्प चयन गर्ने।
- युटिलिटिस् भित्र पनि थुप्रै खण्डहरू देख्न सकिन्छ। तीमध्ये 'अर्गनाइज योर लाइब्रेरी' भित्र 'लक्ड फोल्डर' भन्ने विकल्प देख्न सक्नुहुन्छ। त्यसलाई चयन गर्ने।
- लक्ड फोल्डर खोल्न पिन, पासवर्ड अथवा तपाईंको फिङ्गरप्रिन्ट चाहिन्छ। त्यसलाई अन गरेर फोल्ड भित्र जाने।
- अहिले तपाईंको फोल्डर खाली होला। अब 'मुभ आइटम' भन्ने विकल्प चयन गरि तपाईंले गोप्य रूपमा राख्न खोज्नुभएको आइटम (फोटा, भिडिओ, मुभी)लगायत चयन गर्नुहोस्।
- चयन गरिसकेपछि दायाँपट्टी सबैभन्दा माथि तपाईंले 'मुभ' भन्ने देख्नुहुन्छ। त्यसलाई ट्याप गर्ने।
यसरी तपाईंले रोज्नु भएको आइटम अब छुट्टै फोल्डरमा बस्छ। तपाईंले राख्नु भएको पिन अथवा पासवर्डबिना यो फोल्डरमा भएका केही पनि हेर्न मिल्दैन। यदि तपाईंको गुगल फोटोमा गोप्य राख्नुपर्ने त्यस्ता आइटमहरू छन् भने यो तरिका अपनाएर त्यसलाई सुरक्षित राख्न सक्नुहुन्छ।
गुगलले तपाईंको फोटा/भिडिओको लागि १५ जिबीसम्म स्पेस (स्टोरेज) दिएको छ अनावश्यक लागेका फोटा/भिडिओहरू तपाईंले डिलिट गर्न सक्नुहुन्छ। अर्थात्, सधैंको लागि गुगल फोटोबाट हटाउन सक्नुहुन्छ। त्यस्तै, आफूलाई मनपर्ने फोटा र भिडिओको छुट्टै संकलन नै बनाएर पनि राख्न सक्नुहुन्छ। गुगल फोटोले प्रयोगकर्ताहरूको सहजीकरणको लागि यस्ता थुप्रै फिचरहरू उपलब्ध गराएको छ।