अहिले सामाजिक सञ्जालमध्ये टिकटकको लोकप्रियता बढ्दो छ। कतिले यसमा भिडिओ बनाएर हाल्छन् भने कतिले हेर्न मात्र रुचाउँछन्। भिडिओ अपलोड गर्न होस् या हेर्न मात्र भएपनि धेरैले टिकटक अकाउन्ट बनाउनु भएको होला।
कुनै समय टिकटक धेरै चलाए जस्तो लागेर एप नै अनस्टल (मोबाइलबाट हटाउनु) गर्नुभयो होला। तर एप अनस्टल गर्दैमा प्रयोगकर्ताको अकाउन्ट डिलिट हुँदैन। तपाईंले टिकटक एप मोबाइलबाट अनस्टल गरेपनि अन्य प्रयोगकर्ताले तपाईंको टिकटक प्रोफाइल हेर्न सक्छन्।
तपाईंले पनि टिकटक नचलाउने सोच्नुभएको छ भने अकाउन्ट डिलिट गर्नुहोस्। यसो गर्दा अन्य प्रयोगकर्ताले तपाईंको प्रोफाइल देख्दैनन्।
यसरी डिलिट गर्नुहोस् टिकटक अकाउन्टः
- सुरूमा टिकटक अकाउन्ट लग-इन गर्नुहोस्।
- त्यसपछि आफ्नो प्रोफाइलमा जानुहोस्।
- यहाँ तपाईंले स्क्रिनको सबैभन्दा दायाँतर्फ तीनवटा दर्को जस्तो आइकन देख्नुहुन्छ। त्यसलाई थिच्नुहोस्।
- यसभित्र तपाईंले विभिन्न खण्डहरू देख्न सक्नुहुन्छ। सबैभन्दा माथि रहेको 'अकाउन्ट' अन्तर्गतको 'म्यानेज अकाउन्ट' छनोट गर्नुहोस्।
- त्यसभित्र तपाईंले 'अकाउन्ट इन्फरमेसन' र 'अकाउन्ट कन्ट्रोल' भन्ने देख्नुहुन्छ। अकाउन्ट कन्ट्रोल भन्ने विकल्पभित्र 'डिलिट अकाउन्ट' भन्ने देखिन्छ। त्यसलाई चयन गर्नुहोस्।
- अब तपाईंलाई टिकटकले 'ह्वाई आर यु लिभिङ टिकटक' अर्थात्, 'टिकटक किन छाड्दै हुनुहुन्छ'भनेर थुप्रै विकल्प दिन्छ। त्यसमध्ये आफूलाई उपयुक्त लागेको विकल्प रोजेर 'कन्टिन्यू' गर्नुहोस्। यसरी तपाईंको टिकटक अकाउन्ट डिलिट हुन्छ। अब तपाईंले आफ्नो मोबाइलबाट एप हटाउन सक्नुहुन्छ।
टिकटक अकाउन्ट डिलिट गरेपछि पुनः लग-इन गरेर खोल्न भने मिल्दैन। त्यस्तै, तपाईंले अपलोड गर्नुभएको भिडिओहरू, फलोअर्सहरू, लाइकलगायत अन्य गतिविधिहरू सबै डिलिट हुन्छ।