कुनै समय थियो जुनबेला मेसेन्जर एप लग-इन गर्न फेसबुक खाता अनिवार्य हुन्थ्यो। तर अहिले फेसबुक खाता नभएपनि मेसेन्जर चलाउन सकिन्छ। तपाईं मेसेन्जर मात्र चलाउन चाहनुहुन्छ र फेसबुक डिएक्टिभेट (निष्क्रिय) गर्न चाहनुहुन्छ भने त्यो सम्भव छ। यसको लागि तपाईंले सुरूमा फेसबुक डिएक्टिभेट गर्नुहोस्।
फेसबुक कसरी डिएक्टिभेट गर्ने?
- सुरूमा फेसबुक लग-इन गरेर सेटिङ्स एन्ड प्राइभेसीमा जानुहोस्।
- यसभित्र रहेको सेटिङ्स भन्ने विकल्प रोज्नुहोस्।
- यहाँ तपाईंले विभिन्न खण्ड देख्नुहुन्छ। त्यसमध्ये 'अकाउन्ट' भन्ने खण्डभित्र रहेको 'पर्सनल एन्ड अकाउन्ट इन्फरमेसन' भन्ने विकल्प रोज्नुहोस्।
- अब यहाँ तपाईंले थप केही विकल्पहरू देख्नुहुन्छ। त्यसमध्ये सबैभन्दा अन्तिममा रहेको 'अकाउन्ट अनरसीप एन्ड कन्ट्रोल' भन्ने विकल्प थिच्नुहोस्।
- यसपछि स्क्रिनमा देखिने 'डिएक्टिभेसन एन्ड डिलिसन' भन्ने विकल्प रोज्नुहोस्। फेसबुकले तपाईंलाई यो खण्डभित्र दुई विकल्प दिन्छः खाता डिएक्टिभेट गर्ने अथवा डिलिट गर्ने।
- तपाईंले यसमध्ये डिएक्टिभेट अकाउन्ट रोजेर 'कन्टिन्यू' गर्नुहोस्। अब फेसबुकको पासवर्ड राख्नुपर्ने हुन्छ। पासवर्ड राखेर पुनः कन्टिन्यूमा थिच्नुहोस्।
- यसपछिको पृष्ठमामा तपाईंलाई फेसबुकले विभिन्न विकल्प दिन्छ। आफूलाई उपयुक्त लागेको विकल्प रोजेर पृष्ठको अन्तिममा रहेको कन्टिन्यू थिच्नुहोस्।
- त्यसपछि तपाईंले थप केही विकल्पहरू देख्न सक्नुहुन्छ। यसमध्ये पृष्ठको अन्तिममा देखिने 'रिएक्टिभेट योर अकाउन्ट'बाट आफूलाई उचित लाग्ने समय रोजेर कन्टिन्यू गर्नुहोस्। र, यसपछि देखिने पृष्ठको अन्तिममा रहेको 'डिएक्टिभेट' विकल्प थिच्नुहोस्।
यसरी तपाईंको फेसबुक डिएक्टिभेट हुन्छ। तर तपाईंको मेसेन्जर भने अझै चल्छ। मेसेन्जर एप अथवा वेबसाइटमा इमेल/सम्पर्क नम्बर र पासवर्ड राखेर तपाईंले मेसेन्जर अकाउन्ट चलाउन सक्नुहुन्छ।
मेसेन्जरमार्फत तपाईंले आफ्नो साथीहरूसँग कुराकानी (च्याट) गर्न सक्नुहुन्छ। फेसबुकमा तपाईंले राख्नुभएको प्रोफाइल फोटो भने मेसेन्जरको प्रोफाइलमा देखाउँछ।
फेसबुक डिएक्टिभेट भएपछि अन्य प्रयोगकर्ताहरूले तपाईंलाई फेसबुकमा खोज्दा भेट्दैनन्। तर मेसेन्जरमा भने उनीहरूले मेसेज गर्न मिल्छ।