इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नीतिगत अनुसन्धानका लागि सहयोग गर्ने भएको छ। वर्ल्डलिंकले नेपालमा प्रमाणमा आधारित नीति निर्माण र प्रबन्धनका लागि उद्यमशीलता विकासका लागि सक्रिय 'दायित्व नेपाल'लाई सहयोग गर्ने भएको हो।
वर्ल्डलिंकको सहयोगमा उद्यमशीलताका लागि नवीनता, सहकार्य र सेवा दिँदै आएको दायित्वले तीन वर्षमा तीनवटा नीतिगत विषयवस्तुमा सहयोग गर्नेछ।
सरकारका सम्बन्धित मन्त्रालयको समेत सहभागितामा तीन जनालाई दायित्व नेपाल नीति फेलोसिप प्रदान गर्ने गरी बिहीबार वर्ल्डलिंक र दायित्व नेपालबीच सम्झौता भएको हो। नीति अनुसन्धानसम्बन्धी सो सम्झौतामा वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवाल र दायित्व नेपालका अध्यक्ष डा. पुकार मल्लले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार लगानीमा पहुँच, युवा रोजगरी, महिलाको आर्थिक सशक्तिकरण, मूल्य श्रृंखला र शासन सुधारलगायतका विषयवस्तुमध्ये विश्वव्यापी प्रतिस्पर्धामार्फत रिसर्च फेलो छनोट गरिनेछ भने उनीहरूले ३ देखि ६ महिनासम्म सम्बन्धित मन्त्रालयका सह-सचिवस्तरका अधिकारीहरूको मेन्टरिङमा नीतिगत अनुसन्धान गर्नेछन्।
पाँच सांसद र सम्बन्धित मन्त्रालयका पाँच अधिकारीहरूको सहभागितामा दश विषयवस्तु छनोट गरेर विश्वव्यापी प्रतिस्पर्धा गरिने दायित्व नेपालले जनाएको छ।
वर्ल्डलिंक अध्यक्ष अग्रवालले स्वदेशभित्र उद्यमशीलता विकासका लागि सहयोग पुर्याउनका लागि प्रमाणमा आधारित नीति निर्माण र प्रबन्धनका लागि फेलोशिप सहयोग गरेको बताए।
‘विदेश पढ्न गएकालाई स्वदेश फर्कन र स्वदेशबाट विदेश जाने तरखरमा रहेका युवालाई नेपालमै बसी काम गर्ने वातावरण निर्माणका लागि रोजगारी दिन सक्ने उद्यमशीलता विकास गर्नका लागि नीतिगत रूपमा गर्नुपर्ने सुधारमा सहयोग पुर्याउन सहयोग गरेका हौ,' उनले भने, ‘यसले नेपालमै उद्यमशीलता गर्नका लागि युवा वर्गलाई प्रेरणा दिन सहयोग पुर्याउनेछ।’
दायित्व नेपालका अध्यक्ष मल्लले वर्ल्डलिंकसँगको सहकार्यले युवा-सरकारबीचमा विश्वासका वातावरण निर्माणका साथै आर्थिक शुशासन अभिवृद्धिसँगै युवावर्गलाई आशा, उत्साह र परिवर्तित भएर अघि बढ्न सहयोग पुर्याउनेछ।