कुनै समय क्लबहाउस ट्रेन्डिङमा पर्न सफल एप थियो। क्लबहाउस यस्तो प्लेटफर्म हो जहाँ प्रयोगकर्ताले बोलेर र सुनेर अन्तर्क्रिया गर्न सक्छन्। तर पछिल्लो समय नेपालमा यसको लोकप्रियता घट्दै गएको छ।
निकै चर्चामा आएको समय तपाईंले पनि क्लबहाउसको अकाउन्ट बनाउनु भयो होला। तर अहिले अकाउन्ट यसै छ अथवा प्रयोग गर्नु भएको छैन भने तपाईंले आफ्नो अकाउन्ट डिलिट गर्न सक्नुहुन्छ। अर्थात् हटाउन सक्नुहुन्छ।
यसको लागि तपाईंले सुरूमा अकाउन्ट डिएक्टिभेट गर्नुपर्ने हुन्छ। अकाउन्ट डिएक्टिभेट गरेको ३० दिन पछि तपाईंको अकाउन्ट सधैंको लागि डिलिट हुन्छ। यदि तपाईंले अकाउन्ट डिएक्टिभेट गरेको ३० दिनभित्र फेरि लग-इन गर्नु भयो भने अकाउन्ट डिलिट हुँदैन।
यसरी डिएक्टिभेट गर्नुहोस् अकाउन्टः
- सुरूमा क्लबहाउस अकाउन्ट खोल्नुहोस्।
- त्यसपछि होम पृष्ठको सबैभन्दा माथि दायाँपट्टी रहेको अकाउन्ट आइकनमा जानुहोस्।
- यसको पनि सबैभन्दा माथि दायाँपट्टी रहेको सेटिङ्समा थिच्नुहोस्।
- सबैभन्दा माथि तपाईंले आफ्नो नाम र युजरनेम देख्नुहुन्छ। त्यहाँ थिच्नुहोस्।
- अबको पृष्ठको तपाईंले सबैभन्दा अन्तिममा 'डिएक्टीभेट अकाउन्ट' भन्ने देख्नुहुन्छ। त्यसलाई रोज्नुहोस्।
- यसपछि क्लबहाउसले अकाउन्ट डिएक्टिभेटसम्बन्धी केही जानकारीहरू देखाउँछ। ती पढेर सबैभन्दा तल रहेको 'आई अन्डर्स्यान्ड। डिएक्टिभेट अकाउन्ट' भन्ने विकल्प थिच्नुहोस्।
यसरी तपाईंको अकाउन्ट ३० दिनको लागि डिएक्टिभेट हुन्छ। ३० दिन भित्र अकाउन्ट पुनः लग-इन गर्नु भएन भने बल्ल तपाईंको अकाउन्ट सधैंको लागि डिलिट हुन्छ।