तपाईंले कुनै समय सार्वजनिक रूपमा अपलोड गर्नुभएको फोटा, भिडिओ, एल्बम अथवा पोस्टहरू अहिले कसैले नदेखोस् भन्ने लाग्छ? अथवा सिमित साथीहरूले मात्र देखोस् भन्ने लाग्छ?
यदि यसो हो भने तपाईंले ती पोस्टहरूलाई 'अन्ली मी' भनेर राख्न सक्नुहुन्छ। यसो गर्दा फेसबुकबाट ती पोस्ट डिलिट गर्नुपर्दैन। तपाईंको फेसबुक अकाउन्टमा पोस्टहरू रहिरहन्छ र हेर्न पनि मिल्छ। तर ती पोस्ट अथवा फोटा अरू फेसबुक प्रयोगकर्ताले भने हेर्न मिल्दैन।
त्यस्तै, तपाईंले सार्वजनिक रूपमा पोस्ट गर्नु भएको फोटा अथवा भिडिओहरू आफ्नो फेसबुकमा जोडिएका साथीहरूले मात्रै देख्न मिल्ने पनि बनाउन मिल्छ। फेसबुकले तपाईंको पोस्टहरू क-कसले हेर्न मिल्छ भन्ने तय गर्न थुप्रै प्राइभेसी (गोपनीयताका) विकल्पहरू दिएको हुन्छ।
यसो हो भने फेसबुकमा अपलोड गरेको पोस्ट र फोटो एल्बमको प्राइभेसी कसरी परिवर्तन गर्ने?
यसको लागि सुरूमा तपाईंको पोस्टमा जानुपर्छ। उदाहरणको लागि तपाईं कुनै फोटोको प्राइभेसी परिवर्तन गर्न चाहनुहुन्छ।
- तपाईं जुन फोटोको प्राइभेसी परिवर्तन गर्न चहानहुुन्छ, त्यो फोटो खोल्नुहोस्।
- स्क्रिनको सबैभन्दा माथि दायाँपट्टी तपाईंले तीनवटा डट (थोप्ला) देख्नुहुन्छ। त्यसलाई थिच्नुहोस्।
- यहाँ फोटोलाई के गर्न चाहनु भएको हो भन्नेसम्बन्धी थुप्रै विकल्प दिइएको हुन्छ। त्यसमध्ये 'इडिट पोस्ट प्राइभेसी' भन्ने विकल्प चयन गर्नुहोस्।
- अब देखिने अर्को पृष्ठमा तपाईंले पब्लिक, फ्रेन्ड्स, फ्रेन्ड्स एक्सेप्ट, स्पेसिफिक फ्रेन्ड्स र अन्तिममा अन्ली मी भन्ने विकल्प देख्नुहुन्छ। तपाईंलाई फोटो यदि आफूले मात्र देखिने गरी राख्न मन भए अन्तिमको अन्ली मी भन्ने विकल्प रोज्नुहोस्। यसो गर्दा तपाईंको फोटो अन्य प्रयोगकर्ताले (तपाईंको फेसबुक साथीहरू समेत) देख्दैन।
त्यस्तै, सुरूमा देखिने पब्लिक विकल्प चयन गर्दा तपाईंको फोटो हरेक फेसबुक प्रयोगकर्ताले सहजै हेर्न मिल्छ। फ्रेन्ड्स भन्ने विकल्पमा फोटो अपलोड अथवा राख्नुहुन्छ भने तपाईंको फेसबुक साथीहरूले मात्र फोटो हेर्न मिल्छ। फ्रेन्ड्स एक्सेप्ट चयन गर्दा भने केही निश्चित व्यक्तिहरूले मात्रै नदेख्ने तर बाँकी प्रयोगकर्ता सबैले हेर्न मिल्ने बनाउन सकिन्छ।
त्यस्तै, स्पेसिफिक फ्रेन्ड्समा भने तपाईंले चाहनु भएको व्यक्तिहरूले मात्रै त्यो फोटो देख्ने बनाउन मिल्छ। फ्रेन्ड्स एक्सेप्ट र स्पेसिफिक फ्रेन्ड्स विकल्पमा भने तपाईंले फेसबुक प्रयोगकर्ताहरूको सूची/नाम चयन गर्नुपर्ने हुन्छ।
कुनै पनि एउटा फोटो, भिडिओ र पोस्ट जस्तै तपाईंले अपलोड गर्नुभएको पुरै फोटो अथवा भिडिओ एल्बमको पनि प्राइभेसी परिवर्तन अथवा मिलाउन सकिन्छ।
- यसको लागि सुरूमा तपाईं आफ्नो फेसबुक प्रोफाइल पृष्ठमा जानुहोस् र फोटोज् भन्ने विकल्प थिच्नुहोस्।
- यहाँ तपाईंले सबैभन्दा माथि फोटोज् अफ यू, अपलोड र एल्बम भन्ने देख्नुहुन्छ। त्यसमध्ये एल्बम विकल्प रोज्नुहोस्।
- अब तपाईंले कुन एल्बमको प्राइभेसी परिवर्तन गर्न खोज्नु भएको हो, त्यो एल्बममा थिच्नुहोस्।
- एल्बम खुलिसकेपछि सबैभन्दा माथि दायाँपट्टी तीनवटा डट देख्नुहुन्छ। त्यसलाई थिच्नुहोस्।
- यसपछि देखिने विकल्पमध्ये सबैभन्दा सुरूको 'इडिट' भन्ने रोज्नुहोस्।
- अब यहाँ तपाईंले एल्बमबारे लेखिएको कुराहरू मिलाउन सक्नुहुन्छ। साथै इडिट प्राइभेसी भन्ने विकल्पभित्र पब्लिक, फ्रेन्ड्स, फ्रेन्ड्स एक्सेप्ट, स्पेसिफिक फ्रेन्ड्स र अन्तिममा अन्ली मी भन्ने विकल्प देख्नुहुन्छ। यीमध्ये आफूलाई उचित लाग्ने विकल्प रोज्न सक्नुहुन्छ।
यो तरिका प्रोफाइल पिक्चर र कभर फोटो एल्बमलाई भने लागु हुँदैन। यसमा भएका फोटाको प्राइभेसी भने एक-एक गर्दै मिलाउन सकिन्छ। तर यसो गर्दा पनि तपाईंको हाल भएको प्रोफाइल र कभर फोटो पब्लिक हुन्छ। अर्थात् हरेक फेसबुक प्रयोगकर्ताले हेर्न सक्छन्। तर त्यसमा कुनै रियाक्सन (लाइक) र कमेट भने गर्न मिल्दैन।
यसरी तपाईंले अपलोड गर्नुभएको फोटा, भिडिओ र अन्य पोस्टहरूको प्राइभेसी परिवर्तन गर्न सक्नुहुन्छ। तपाईंले फेसबुकमा केही पोस्ट गर्दै हुनुहुन्छ भने पनि त्यही समय प्राइभेसी परिवर्तन गर्न सक्नुहुन्छ।