सूचना प्रविधि कम्पनी रिंगेज प्रालिले आवाजमा अधारित नयाँ संचार सेवा ‘भ्वाइस ब्रोडकास्टिङ सिस्टम’ सार्वजनिक गरेको छ। भक्सक्रो प्रालिको प्राविधिक समन्वयमा सञ्चालित यो सेवाको नेपालमै पहिलो व्यवसायिक सुरूवात गरिएको रिंगेजका अध्यक्ष दिपेश रेग्मीले बताए।
एकै समयमा हजारौं फोन नम्बरमा एउटै रेकर्ड गरिएको सन्देश प्रसारण गर्ने प्रविधि भ्वाइस ब्रोडकास्टिङ सिस्टम हो।
प्रचलनमा रहेको बल्क एसएमएस सिस्टमको परिस्कृत संस्करण भ्वाइस कलिङ सिस्टमका रुपमा यो सेवा आएको रेग्मीले जानकारी दिए। उनका अनुसार यसलाई भ्वाइस एसमएस पनि भनिन्छ।
केहि महिना अगाडि भएका राजनीतिक पार्टीका महाधिवेशनमा यो सेवाको प्रभावकारी परीक्षण गरिएको रेग्मीले जानकारी दिए। महाधिवेशनमा उमेदवारले प्रतिनिधिहरूसँग भोट माग्न यो सेवा प्रयोग गरेका थिए।
चुनाबमा भोट माग्न मात्र नभई कुनै पनि कम्पनी वा संस्थाको उत्पादन, सेवा तथा गतिविधिको जानकारी दिन, बैंकिङ सेवाहरूको सूचना प्रवाह गर्न र पूजा तथा भोज कार्यक्रममा निम्ता दिनका लागि समेत यो सेवा निकै प्रभावकारी हुने रेग्मी बताउँछन्।
‘यो सेवामा कुनै पनि भाषामा आवाज रेकर्ड गरी वेब एप्लिकेसनमा अपलोड गरिन्छ,’ रेग्मीले भने, ‘निम्तो तथा जानकारी दिन चाहनेले आफ्नै आवाजमा सन्देश प्रवाह गर्न सक्छन्।’
फोन नउठेका नम्बरमा कलहरू पुनः डायल हुन्छ। अन्त्यमा सोको प्रवाभकारिता रिपोर्ट वेब एपमै उपलब्ध समेत हुने भएकाले यो सिस्टम निकै प्रभावकारी भएको उनी बताउँछन्।
कम्पनी स्थापनाको एक वर्ष करिब पाँच सय सेवाग्राहीहरूलाई सेवा दिएर यो प्रविधिको सफल परीक्षण गरिएको रेग्मीले बताए।
सबै किसिमका परीक्षणमा यो सेवा प्रभावकारी देखिए पछि भ्वाइस ब्रोडकास्टिङ सिस्टम सार्वजनिक रुपमा सबै व्यक्ति तथा संस्थाको सेवाका लागि उपलब्ध गराइएको रेग्मीको भनाइ छ।
टेलिकमको शुल्क र कम्पनीको सिस्टमको शुल्क गरेर करसहित एउटा कलको साढे तीन रुपैयाँ खर्च लाग्ने बताइएको छ। आगामी दिनमा टेलिकमले आफ्नो शुल्क घटाएमा सो अनुसार मूल्य समायोजन गरिने रेग्मीले जानकारी दिए।
यसै प्रविधिको प्रयोग गरि विभिन्न अनुसन्धान, पोलिङ, ग्राहकको गुनासो तथा प्रतिक्रिया संकलन गर्न सकिने सेवा समेत सुरू गरिएको छ। यो सेवा अटोमेटेड भ्वाइससँग सम्बन्धित भएकाले अन्तरराष्ट्रिय स्तरमा समेत सेवा प्रवाह गर्ने कम्पनीको योजना छ।
यसअघि कम्पनीले कोरोना महामारीका बेलामा विविध संस्थासँगको समन्वयमा सार्वजनिक सन्देश ब्रोडकास्टिङ गरिसकेको छ। एक पटकमा एकभन्दा बढी व्यक्तिहरूको पहुँचमा तत्काल पुग्नुपर्ने सूचनाको पहुँच पुर्याउनका लागि कम्पनीले यस्तो कदम अघि सारेको हो।
रिंगेजले टेलिकम कम्पनीहरूको सहकार्यमा सेवा सञ्चालनमा ल्याएको छ। सन् २०२१ मा स्थापित कम्पनीले हालसम्म ७० भन्दा बढी जिल्लाहरूमा पहुँच बनाइसकेको छ।
जसमा ९२.७६ प्रतिशत सहभागितामा ९९.५६ प्रतिशत ग्राहकहरू ब्रोडकास्टमा जोडिएका छन्। कुनै पनि कम्पनीका सम्बन्धित सेवाग्राही माझ समान सूचनाको पहुँच बनाउनु कम्पनीको उद्देश्य रहेको छ।